भोट हाल्न २५ दिनमा आए एक लाख ३३ हजार नेपाली

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै छ । उमेदवारहरू मतदाता आकर्षित गर्न घरदैलो कार्यक्रममा व्यस्त छन् । निर्वाचन देश र देशबाहिर रहेका नेपालीलाई उत्तिकै लागेको छ । यति बेला विदेशमा रहेका केही नेपालीले मतदान गर्न नेपाल फर्कने वा फर्किरहेको पोस्ट सामाजिक सञ्जालमा गरिरहेको देखिन्छ ।

के विदेशमा रहेका नेपाली मतदान गर्नकै निम्ति स्वदेश फर्किरहेका हुन् रु यसको जवाफ अध्यागमन विभागको तथ्यांकले दिन्छ । मतदानका निम्ति अब ६ दिन बाँकी छ । अध्यागमन विभागबाट प्राप्त विवरणानुसार, सन् २०२६ को फेब्रुअरी १ देखि २५ सम्म विश्वका १६० देशबाट एक लाख ३३ हजार ८०९ नेपाली स्वदेश फर्किएका छन् । फर्कनेमा ३२ हजार ३७० महिला र एक लाख एक हजार ४३९ पुरुष छन् ।

फेब्रुअरीमा औसतमा प्रत्येक दिन चार हजार ५७ नेपाली स्वदेश फर्किएका विभागको तथ्यांक छ । यसमा भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्कनेको संख्या समावेश छैन । नेपालीको यो संख्या अघिल्लो महिनाभन्दा निकै बढी हो त रु तथ्यांक हेरौँ–तथ्यांकानुसार, अघिल्लो महिना अर्थात् २०२६ जनवरीमा विश्वका १५९ देशबाट एक लाख ४७ हजार ४४ नेपाली स्वदेश फर्किएका थिए । यसरी फर्कनेमा ३७ हजार ८४६ महिला र एक लाख ४७ हजार ४४ पुरुष छन् ।

जनवरीमा औसतमा प्रत्येक दिन चार हजार ७४३ भन्दा धेरै नेपाली स्वदेश फर्किएका देखिन्छ । फेब्रुअरीको तुलनामा जनवरीमा प्रत्येक दिन औसतमा ६८६ बढी नेपाली स्वदेश फर्किएका तथ्यांक छ ।जनवरीमा एक लाख ४७ हजार ४४ र फेब्रुअरीको १ देखि २५ सम्म एक लाख ३३ हजार ८०९ गरी दुई महिनामा दुई लाख ८० हजार ८५३ नेपाली स्वदेश फर्किएका छन् ।

निर्वाचनको मितिनजिकका दिनमा भन्दा अघिल्लो महिनामा धेरै नेपाली स्वदेश फर्किएका तथ्यांक छ । जनवरीको तुलनामा फेब्रुअरीमा स्वदेश फर्कने नेपालीको संख्या घटेको छ ।यसबाट मत खसाल्नकै निम्तिभन्दा पनि अरू बेला जे जसरी स्वदेश फर्कने गरिन्थ्यो, त्यही ‘ट्रेन्ड’मा फर्किएका देखिन्छ ।

सन् २०२५ मा १७ लाख १८ हजार ६८८ नेपाली विदेश गएका थिए । त्यही वर्ष विदेशबाट १५ लाख आठ हजार २५८ नेपाली फर्किएका थिए । २०२५ मा औसतमा प्रत्येक दिन चार हजार १३२ नेपाली स्वदेश फर्किएका तथ्यांक छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, हाल भारतबाहेकका देशमा ४० लाख नेपाली छन् । २५ लाख नेपाली वैदेशिक रोजगारीका सिलसिलामा छन् । १५ लाख नेपाली अध्ययन र अरू उद्देश्यले विदेशमा छन् । भारतमा मात्र २० लाखदेखि ५० लाख नेपाली रहेका उनले जानकारी दिए ।