१ करोड ५० लाखमा टिकट विक्रि गरेको आरोप लागेपछि रास्वपाले प्रमाण माग्यो

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं—१ करोड ५० लाखमा टिकट विक्रि गरेको आरोप लागेपछि रास्वपाले प्रमाण मागेका छ । रामविनोद यादवलाई धनुषा २ को उम्मेदवार छनोट गर्दा मनिष झाले एक करोड ५० लाख लिएर टिकट विक्रि गरेको भन्दै अर्का आकाक्षी दिनेश साहुले आरोप लगाएका थिए । टिकट विक्रि भएको बारे अडियो बाहिरिएपछि रास्वपाको धनुषा जिल्ला समितिले साहुलाई पत्राचार गर्दै तीन दिनभित्र प्रमाण पेश गर्न चेतावनी दिएको छ ।

धनुषा २ मा रास्वपाले रामविनोद यादवलाई उम्मेदवार बनाएको छ । उनी निर्वाचनको मनोनयन दर्ता गर्नेभन्दा केही दिनअगाडि रास्वपा प्रवेश गरेका हुन् । सोही क्षेत्रबाट दिनेश साहु पनि आकांक्षी थिए । तर, टिकट नपाएपछि उनले पार्टी सभापति रवि लामिछाने निकट नेता प्रमोद न्यौपानेसँग सिकायत गरेको अडियो बाहिरिएको हो ।

सार्वजनिक भएको अडिओमा साहुले रास्वपाका प्रवक्ता मनिष झालाई आरोपित गर्न खोजेका छन् । साहुको दावीअनुसार टिकट नपाएपछि झाले उनलाई भेट्न बोलाए । उक्त भेटमा झाले ‘आर्थिक चलखेलमा तपेश्वर यादव, पुरुषोत्तम यादव र अमरेश सिंहले दबाब दिएर रामविनोदलाई उठाउनुपरेको’ बताएको साहुको दाबी छ । झाले आफूलाई स्वतन्त्र उम्मेदवारी दिएमा सघाउने आश्वासन दिएको तर आफूले त्यसो गर्न नचाहेको समेत उनले बताएका छन् ।

अडिओमा साहुले भनेका छन्, ‘मेन कमाण्डरै मान्छे (मनिष झा) मलाई के भन्छ– दाइ तपाईँको टिकट पैसाको चलखेलमा तपेश्वर यादव, पुरुषोत्तम भन्ने जेनजीको केटा र अमरेश सिंहले दबाब दिएर यस्तो भयो । तपाईँ स्वतन्त्रबाट लड्नुस्, हामी सहयोग गर्छौँ ।’

यस विषयमा साहुले अडियो आफ्नो भएको पुष्टि गरे । अडिओमा बोलेका कुरामा अहिले पनि आफू अडिग रहेको उनले बताए ।

‘मैले अडिओमा जे बोलेको छु, त्यो सही हो’ उनले भने, ‘मनिष झाले मलाई पैसाको चलखेलमा टिकट अर्कोले लग्यो भनेर भनेकै हो ।’

आफूलाई झाले टिकट पाउने आश्वासन दिएको तर पूरा नभएको साहुले बताए ।

उनी भन्छन्, ‘उहाँले आश्वासन दिएपछि मैले २५ हजार तिरेर फाराम भरेँ । मेरो नोमिनेसन पनि भयो । तर टिकट अर्कैले लग्यो ।’

आफूले प्रवक्ता झासँग टिकटका लागि ३ करोड खर्च गर्नसक्ने बताएको पनि साहुले स्वीकार गरे ।

उनले भने, ‘उहाँसित मैले पार्टीको इभेन्टमा सबै ठाउँमा मेरो एड्भान्स पैसा गएको छ, अझै पार्टीलाई कति पैसा चाहियो भन्नुस् भन्ने कुरा राखेँ । त्यतिबेला मेरो श्रीमतीले पनि फोन गरेर कति पैसा चाहिन्छ मनिष झालाई ? २ करोड, ३ करोड कति चाहियो, गाडीबाट चेक निकालेर दिनुस भनेको थियो । मैले भनेँ, उसले (रामविनोद) डेढ करोडमा लिएको भए तीन करोड लिनुस्, मलाई टिकट चाहियो । तर, उहाँले अब गइसकेछ दाइ, केही हुन सक्दैन भन्नुभयो । मलाई न्याय चाहियो ।’

अडिओमा साहुले आफूले धनुषाका ४४ वटा वडा र सबै पालिकामा रास्वपाको संगठन निर्माण गरेको र टिकट पाएको खण्डमा जित्ने निश्चित रहेको दाबी गरेका छन् । तर अहिले उम्मेदवार बनेका रामविनोद भर्खर जेलबाट निस्किएको र उनलाई कसैले नचिन्ने साहुको टिप्पणी छ ।

हाम्रो क्षेत्रमा एक जना मानिसले पनि उसलाई चिन्दैन । उसले कुनै कार्यकर्ता भेटेको छैन । सबै कार्यकर्ता मसित छ । म चुनाव २०० प्रतिशत जितिराखेको थिएँ । मसित कुनै छलफल नगरीकन उसलाई दिइयो । उ टिकट लिएर भाग्यो । पार्टीको सदस्य नरहेको, भर्खरै जेलबाट निस्किएको यस्तो डाका मान्छेलाई टिकट दिएर पठाइएको छ । पहिले एमाले थियो, जनमतमा गयो, स्वतन्त्र भयो र अहिले रास्वपाको टिकट लियो,’ साहु भन्छन् ।

फोन संवादको अडिओमा न्यौपानेले यो विषय आफूभन्दा माथि पुगिसकेको बताउँदै साहुलाई थुम्थुम्याउन खोजेका छन् ।

उनले भनेका छन्, ‘मधेसका केही जिल्लाबाट पार्टीका साथीहरूले संस्थागतरुपमा नै असहमति जनाउनुभएको छ । तर जे हुनु भइसक्यो । अब तपाईँ बैगुनीलाई गुनले मार्न सक्नुहुन्छ भने पार्टीको उम्मेदवारलाई सघाउन लाग्नुस् । होइन भने अर्को क्षेत्रमा गएर पार्टीको अभियानमा जोडिनुस् ।’

प्रतिक्रिया दिँदै न्यौपानेले टिकट वितरण लगत्तै साहुले आफूलाई फोन गरेको र टिकट नपाएकोप्रति गुनासो सुनाएको बताए ।

उनले भने, ‘मैले उहाँलाई पार्टी र उम्मेदवारका पक्षमा लाग्नुस्, असन्तुष्टि भए चुनावपछि समीक्षा गरौँला, तपाईँले गर्नुभएको शंकाको पनि आवश्यक पर्दा पार्टीले छानबिन गर्छ भनेको हुँ । तर उहाँले कुन उद्देश्यले अडियो सार्वजनिक गर्नुभयो थाहा छैन । उहाँले आरोप पुष्टि गर्ने प्रमाण पेश गर्न सक्नुभएन भने विधानअनुसार पार्टीले निर्णय गर्छ ।’

दिनेश साहुको अडियो सार्वजनिक भएपछि रास्वपाको धनुषा जिल्ला समितिले उनलाई पत्र काटेको छ । पत्रमा अडिओमा बोलेका कुराको तीन दिनभित्र प्रमाण पेश गर्न भनिएको छ ।

रास्वपा जिल्ला सभापति लक्ष्मेश्वर यादवले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘संसदीय निर्वाचन २०८२ को टिकट वितरणको सिलसिलामा तपाईँको असन्तुष्टिहरू सामाजिक सञ्जालमा व्यापकरुपमा आइरहेकाले त्यस्ता अभिव्यक्तिहरूले निर्वाचन परिणामलाई नकारात्मक प्रभाव पार्ने भएकाले सोको सत्य विषय प्रमाणसहित जिल्ला पार्टी कार्यालयमा पेश गर्नुहुन निर्देशन साथ जानकारी गराइन्छ ।’

रास्वपाका धनुषा सभापति यादवले टिकट वितरणमा कुनै पनि गडबडी नभएको दाबी गरे । जिल्लाबाट राम विनोदसहित चार जनाको नाम सिफारिस भएको र त्यसमा दिनेश साहुको नाम नरहेको उनको भनाइ छ ।

‘माथि सिफारिस भएको सूचीमा उहाँ (दिनेश) को नाम थिएन । जिल्लामा पार्टीको संगठन आफूले विस्तार गरेको उहाँको दाबी हावादारी हो । उहाँ नोमिनेसनको दुई तीन दिनअघि मात्रै पार्टीको सदस्यता लिएर आउनुभएको हो । उहाँको कुनै राजनीतिक पृष्ठभूमि पनि थिएन । म्यानपावर चलाएर बसेको व्यक्ति हो । अहिले टिकट नपाएपछि जथाभाबी बोलिरहनुभएको छ,’ यादवले भने ।