वाम आन्दोलनको रक्षाका लागि आफुलाई सघाउन रञ्जित तामाङले ओलीसंग गरे आग्रह

आइतबार, १७ फाल्गुन २०८२

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी झापा ५ का उम्मेदवार रञ्जित तामाङले आफूहरूले कसैलाई नछाड्ने प्रस्ट पारेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई छाड्ने चर्चापछि आज पत्रकार सम्मेलन गरेर कहीँ कतै कुनै समयमा छोड्नको लागि उम्मेदवारी दर्ता नगराएको बताए।

उनले भने, ‘यहाँ भएका सबै उम्मेदवारहरूलाई जनताको मतद्वारा पराजित गरेर जित्नको लागि उम्मेदवारी दिएको हो। त्यसैले सुरुमै भन्न चाहन्छु, हामी कसैलाई छोड्दैनौँ। कतिखेरसम्म छोड्दैनौँ भने हामीले नजित्दासम्म छोड्दैनौँ। त्यसैले तपाईँहरूले पनि सुनिराख्नुभएको छ, बुझिराख्नुभएको छ सामाजिक सञ्जालहरूमा दोहोरो मारमा म परिराखेको छु।’

उनले आफूले उम्मेदवारी फिर्ता लिन लागेको भनेर अनेकौँ भ्रम र अफवाहहरू फैलाइएको बताए। उनले थपे, ‘सामाजिक सञ्जालसँगै व्यक्तिगत हिसाबले पनि सम्बन्धित जिम्मेवार व्यक्तिहरूले तल–तल मतदाताहरूलाई भन्दै हिँड्नुभएको छ। कहिले पूर्व प्रधानमन्त्रीले हामीलाई छोड्यो, तालमेल भयो आदित्यादि भनेर हल्ला चलाउनुभएको छ। भावी भनिएकाहरूले ’होइन हामीलाई छोड्ने हुनुभयो’ भनेर हल्ला चलाउनुभएको छ। हाम्रो पार्टीको आधिकारिक धारणा र सामाजिक सञ्जालहरूमा समेत मैले स्पष्ट गर्दै आएको छु।’

उनले जसले सहयोग गरे पनि केपी ओलीले चुनाव नजित्ने दाबी गर्दै वाम आन्दोलनको रक्षाका लागि आफूलाई सघाउन आग्रह गरे। झापामा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा उत्रिएकाले चर्चामा छ।