रवि लामिछानेका कार्यकर्ता पक्राउ
काठमाडौं—जेनजी आन्दोलनबारे बिबिसीले तयार पारेको भिडिओ देखाउँदै भोट माग्दै हिँडेका रवि लामिछानेका कार्यकर्ता पक्राउ परेका छन् । प्रोजेक्टर जोडेर जनकपुरको चोकचोकमा उक्त भिडिओ देखाउँदै हिँड्ने रास्वपा कार्यकर्ता विकास जयसवालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिबिसीले दुई दिनअघि पुराना दललाई प्रतिकूल हुने खालको एकपक्षीय रिपोर्ट सार्वजनिक गरेको थियो । रास्वपाका कार्यकर्ताले त्यसलाई भोट बटुल्ने अवसरका रूपमा प्रयोग गर्दै सामाजिक सञ्जालमा भिडिओ शेयर गरिरहेका छन् ।
रास्वपाका कार्यकर्ताले त्यसलाई भोट बटुल्ने अवसरका रूपमा प्रयोग गर्दै सामाजिक सञ्जालमा भिडिओ शेयर गरिरहेका छन् । जनकपुरमा भने फिल्डमै उत्रिएर उनीहरूले भारतीय गाडीमा एलइडी लगाएर बीबीसीको डकुमेन्ट्री देखाएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।
निर्वाचन आचार संहिता विपरीत भिडिओ प्रदर्शन गर्दै हिँडेका जयसवाल र बीआर ०१ जी ०१४६७ नम्बरको गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले प्रेस काउन्सिलमार्फत् बीबीसीलाई उक्त डकुमेन्ट्री हटाउन पत्राचार गरिसकेको छ ।
एलईडी सेटसहित पक्राउ परेका जयसवालले बयानको क्रममा अन्य व्यक्तिले समेत सोही भिडिओ देखाउँदै हिँडिरहेको बताएका छन् । निर्वाचनको संघारमा मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।