चुनाव हारेका गगनलाई कांग्रेस कार्यकर्ताको खुल्लापत्र

आइतबार, २४ फाल्गुन २०८२

आदरणीय गगन थापा ज्यू,
सादर नमस्कार।

मध्यावधि चुनावको परिणाम अब अन्तिम निष्कर्षमा पुगिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित विजयले देशभरि उत्साह र सनसनी फैलाएको छ। लोकतन्त्रमा यस्तो परिवर्तन स्वाभाविक पनि हो। जनमतको लहर कहिलेकाहीँ पुराना धारणाहरूलाई चुनौती दिँदै नयाँ आकांक्षाको संकेत पनि दिन्छ। तर परिणामको यो क्षणमा एउटा कुरा भने स्पष्ट छ– हजुर चुनाव हार्नुभएको हुन सक्छ, तर हजुरको विचार हारेको छैन। कम्तीमा अहिलेसम्म लोकतन्त्र हारेको छैन। देश बनाउने तपाईंको ढुकढुकी पनि पराजित भएको छैन।

राजनीति कहिलेकाहीँ अत्यन्त कठोर हुन्छ। यसले मानिसको प्रयास, निष्ठा र त्यागलाई सधैं तुरुन्तै न्याय गर्दैन। विशेष महाधिवेशन सही थियो कि गलत थियो भन्ने प्रश्न अब सतहमा बारम्बार उठ्नेछ। नैतिकताको बहस पनि हुनेछ। तर समयको चाप, परिस्थितिको माग र परिवर्तनको आकांक्षाले गर्दा लिइएका निर्णयहरूलाई इतिहासले कहिलेकाहीँ धेरै पछि मात्रै सही रूपमा मूल्याङ्कन गर्छ। त्यसैले अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पछाडि फर्केर दोष खोजिरहनु होइन, अगाडि हेरेर बाटो बनाउनु हो। तर पार्टीले कबुल गरेको नियमित महाधिवेशनलाई भने नबिर्सनु, संस्थागत प्रतिबद्धता जोगाइराख्नु, नेतृत्वको नैतिक शक्ति अझ बलियो बनाउने आधार पनि हुनेछ।

चुनाव आफैंमा नितान्त प्राविधिक प्रक्रिया पनि हो। रणनीति, संगठन, समय, सन्देश यी सबैको सन्तुलन मिलेन भने परिणाम फरक आउन सक्छ। कतै कमजोरी भएको हुन सक्छ, कतै रणनीतिक त्रुटि भएको हुन सक्छ। त्यसलाई स्वीकार्नु कमजोरी होइन, बरु नेतृत्वको परिपक्वता हो। तर यति मात्र होइन, आजको यो परिस्थिति अचानक बनेको पनि होइन। तीन दशकदेखि सत्ताको वरिपरि घुम्दै आएको “म्युजिकल चेयर” जस्तो राजनीतिक संस्कार, पुराना दलहरूको उन्माद, र जनतामा बढ्दै गएको निराशाले पनि यो परिणामलाई जन्म दिएको हो। त्यसमा कसको कति हिस्सा छ भन्ने प्रश्नबाट नेतृत्वले आँखा चिम्लनु हुँदैन—बरु हृदयगम गरेर नयाँ बाटो खोज्नुपर्छ।

यससँगै अर्को महत्त्वपूर्ण पक्ष पनि स्मरणीय छ। अब संविधानले तोकेको समयसीमाभित्र बन्ने नयाँ सरकारप्रति आवेश वा प्रतिशोधको दृष्टिले होइन, गुण–दोषको आधारमा व्यवहार गर्नु नै लोकतन्त्रवादी संस्कार हो। सत्ता पक्ष होस् वा प्रतिपक्ष—देश र लोकतन्त्रको हितलाई केन्द्रमा राखेर आवश्यक ठाउँमा सहयोग र आवश्यक ठाउँमा सचेत आलोचना गर्नु नै लोकतान्त्रिक परिपक्वता हो। यही परम्परा र संस्कारलाई पनि मनन गरिनु आवश्यक छ।

आदरणीय गगन थापा ज्यू,

यो समय तपाईंका लागि कति भारी, कति थकाइपूर्ण र कति भावनात्मक रूपमा कठिन होला भन्ने सहजै अनुमान गर्न सकिन्छ। धेरै आशा बोकेर, धेरै कुरा बदल्ने विश्वास लिएर, भित्र र बाहिर दुवैतर्फ संघर्ष गर्दा मानिस केवल राजनीतिक रूपमा होइन, मानवीय रूपमा पनि थाक्छ। कहिलेकाहीँ यस्तो क्षण आउँछ, जहाँ मानिसलाई लाग्छ—सायद मैले चाहेको परिवर्तन सम्भव छैन कि ? सायद मैले सोचेको बाटो गलत थियो कि ? सायद अब मौन बस्नु नै ठीक होला कि ? तर यही क्षणहरू इतिहासका मोड पनि बन्ने गर्छन्।

धेरै मानिसहरूले केवल परिणाम हेर्छन्, तर केहीले यात्रा पनि देखिरहेका छन्। सबैले ताली नबजाए पनि, तपाईंले उठाउनुभएको प्रश्न, देखाउनुभएको साहस, र परिवर्तनको आवश्यकता बारे बोलेको स्पष्टता धेरैले गहिरो रूपमा महसुस गरेका छन्। सजिलो बाटो रोज्नेहरू धेरै हुन्छन्, तर असजिलो सत्य बोल्नेहरू सधैं थोरै हुन्छन्। तपाईं त्यही थोरैमध्ये पर्नुहुन्छ।

हार, आलोचना, गलत व्याख्या, ट्रोल र आफ्नै मनभित्रको निराशाले कहिलेकाहीँ मानिसलाई मौन बनाउने प्रयास गर्छ। तर इतिहासले बारम्बार देखाएको छ—साँचो परिवर्तन तुरुन्त तालिले जन्मिँदैन। त्यो धैर्यबाट जन्मिन्छ, निरन्तरताबाट जन्मिन्छ, र इमानदारीबाट जन्मिन्छ। आज थकान लाग्नु स्वाभाविक हो। केही समय विश्राम लिनु पनि आवश्यक हुन्छ। सास फेर्नु, आफूलाई पुनः सम्हाल्नु, आफ्नो मनलाई फेरि बलियो बनाउनु—यी पनि संघर्षकै भाग हुन्। तर एउटा कुरा नबिर्सनुस्—तपाईंले बालेको आशाको दियो धेरैको मनमा अझै निभेको छैन।

कृपया आफूलाई एक्लो नसम्झनुस्। धेरै मानिसहरू अझै पनि तपाईंभित्र सम्भावना देख्छन्। निष्ठा देख्छन्। दीर्घकालीन नेतृत्वको छाया देख्छन्। राजनीति केवल जितको क्षणले ठूलो हुँदैनस कठिन समयमा पनि आशा बोकेर उभिन सक्ने क्षमताले ठूलो हुन्छ।

तपाईं थाक्न सक्नुहुन्छ। केही समय मौन बस्न सक्नुहुन्छ। तर आशा भने नहार्नुस्। देशलाई अझै पनि इमानदार, संवेदनशील र साहसी आवाजहरूको आवश्यकता छ।गगन थापा केवल एउटा नाम होइनन्—संघर्षको प्रतीक हुन्, विश्वासको संकेत हुन्, र धेरै युवाको मनमा बाँचेको आशाको आवाज हुन्।
यसपटकको चयनमा को परे, को परेन भन्ने कुरा समयले बताउनेछ। तर नेपाली कांग्रेसले देशहितका लागि थालेको परिवर्तनको अभियान तपाईंको नेतृत्वमा अझ मजबुत भएर अघि बढ्न सक्छ भन्ने विश्वास धेरैको मनमा अझै जीवित छ।

अन्त्यमा केवल यति भन्न चाहन्छु,
कहिलेकाहीँ इतिहासले सबैभन्दा ठूलो जिम्मेवारी त्यही मानिसलाई दिन्छ, जो थाकेको हुन्छ तर अझै हार मान्न तयार हुँदैन। कृपया बलियो रहनुस्।

सादर शुभेच्छासहित।