केपी शर्मा ओलीलाई नेकपा एमालेको अध्यक्षबाट हटाउन पार्टीभित्रबाटै चलखेल सुरु

सोमबार, २५ फाल्गुन २०८२

काठमाडौं—केपी शर्मा ओलीलाई नेकपा एमालेको अध्यक्षबाट हटाउन पार्टीभित्रबाटै चलखेल सुरु भएको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चुनावमा पराजयको जिम्मेवारी लिँदै ओलीलाई राजीनामा गराउन घनिभुत छलफल चलेको छ ।

पौडेलले ओलीको राजीनामा नआए विशेष महाधिवेशन बोलाएर नीति, नेतृत्व, संगठन र कार्यशैलीको पुनर्गठन गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन् । त्यसका लागि दस्ताबेज लेख्ने काम चलिरहेको श्रोतले जनाएको छ ।

रुपन्देही २ बाट पराजय भोगेलगत्तै पौडेलले नेतृत्व परिवर्तनको अग्रसरता लिने संकेत गर्दै भनेका थिए, विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

महाधिवेशनमा पराजित पक्षले होइन ओलीलाई जिताउने नेताहरूले नै नेतृत्व परिवर्तनको अग्रसरता लिएपछि एमालेमा अब ओलीलाई कार्यकारी नेतृत्वबाट बिदा गराउने प्रक्रिया अघि बढ्ने देखिएको छ । पौडेलपछि ओलीनिकटकै नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने प्रतिक्रिया दिइसकेका छन् ।

पौडेलले यसबीचमा केही पदाधिकारीसहित एमालेका नेताहरुसँग नीतिहरूको पुनः व्यवस्थापन, नेतृत्व परिवर्तन, कार्यशैली र संगठनको पुनर्गठनको आवश्यकताका बारेमा अनौपचारिक छलफल समेत गरेका छन् । महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराईबाहेक सबै पदाधिकारी एक ठाउँमा उभिने सम्भावना रहेको पौडेलनिकट स्रोतले जनाएको छ ।

पौडेलसँग छलफल गरेका एक एमाले पदाधिकारीले भने, अहिले नेतृत्व परिवर्तन र समग्र पार्टी पुनर्गठनको कुरा ईश्वर पोखरेल पक्षले होइन ओली पक्षबाटै उठेको छ भनेर बुझ्नुपर्छ । त्यसको अगुवाइ विष्णु पौडेलले गर्नुको अर्थ बहुमत पदाधिकारी र केन्द्रीय कमिटी त्यहाँ हुनेछ । नैतिकरूपमा ओली कमरेडले पार्टीको शर्मनाक हार र सिंगो आन्दोलनको भविष्यलाई हेरेर राजीनामा दिनुभयो भने पार्टीले उहाँको सम्मान र संरक्षण गर्नेछ । नत्र अब एमालेमा नीतिको पुनःव्यवस्थापन र नेतृत्व परिवर्तनको प्रक्रिया प्रभावकारी ढंगले अघि बढ्ने भयो ।

पार्टीका संरचनाहरू कब्जा गर्ने तर जनताको ठूलो पङ्क्तिले के चाहेको छ भन्ने नबुझ्दा यो अवस्था आएकाले अब नेतृत्वको पूरै पङ्क्ति नै बिदा हुनुपरे पनि त्यसका लागि तयार रहने गरी एमालेमा अबको बहस अघि बढ्ने देखिएको छ । विष्णु पौडेलकै अगुवाइमा नेतृत्वको परिवर्तन र नीति तथा संगठन पुनर्गठनको अभियान चलेका कारण एमालेको अध्यक्षबाट ओलीको बहिर्गमनको बहसले विधिवत प्रक्रिया भने लिने देखिएको छ ।

यसबीचमा नीतिगत विषय र पार्टीका निर्णय तथा नेतृत्वको कार्यशैलीमा भएका गम्भीर गल्तीहरूको पहिचान र समीक्षासहित व्यवस्थित डकुमेन्ट समेत तयार भइरहेको र त्यो पार्टीमा छलफलका लागि तलैसम्म प्रक्रियागतरुपमा लैजाने तयारी छ । कहाँ कहाँ गल्ती भयो र यसमा को जिम्मेवार थियो भन्ने तहबाटै डकुमेन्ट तयार हुने स्रोतले जनाएको छ ।