बालेन शाह नेपालको प्रधानमन्त्री बन्ने पक्का भएपछि भारतीय शिक्षकहरु उत्साहित
काठमाडौं—बालेन शाह नेपालको प्रधानमन्त्री बन्ने पक्का भएपछि भारतीय शिक्षकहरु उत्साहित भएका छन् । भारतको बैंगलोरस्थित निट्ठे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा बालेनलाई स्ट्रक्चरल इन्जिनियरिङ पढाएका श्रेयस एभीसहितका शिक्षकहरुले खुशीयाली मनाएका छन् ।
सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभीले बालेन यो उचाइसम्म पुगेको देख्दा धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् । उक्त कलेजमा बालेनसँगै सुनिल लम्साल र प्रवीण श्रेष्ठले अध्ययन गरेका थिए ।
धेरैलाई थाहा नहुन सक्छ, शाहले कुनै समय भारतको बैंगलोरस्थित निट्ठे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) मा अध्ययन गरेका थिए, जहाँबाट उनले स्ट्रक्चरल इन्जिनियरिङ (सिभिल इन्जिनियरिङको एक विधा) मा एमटेक गरेका हुन्।
निर्वाचन आयोगको घोषणाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा—५ बाट संसदीय चुनाव जितेका छन्। उनले आफ्ना कडा प्रतिस्पर्धी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। रास्वपाले चुनावमा सानदार बहुमत हासिल गरेसँगै संसद्को तल्लो सदनमा प्रवेश पाएका बालेनको प्रधानमन्त्री बन्ने बाटो लगभग तय भएको छ।
एनडीटीभीसँगको विशेष कुराकानीमा, शाहलाई पढाउने एनएमआइटीका प्राध्यापकहरूले आफ्ना एक पूर्वविद्यार्थी नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएको देख्न पाउँदा गर्व महसुस भएको बताएका छन्।
सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभी, जसले उनलाई मेकानिक्स अफ डिफर्मेबल बडिज र फाइनाइट एलिमेन्ट मेथड्सजस्ता विषय पढाएका थिए, शाहलाई एक अनुशासित र लक्ष्यप्रति केन्द्रित विद्यार्थीका रूपमा सम्झन्छन्। उनका अनुसार शाह सन् २०१६ मा अन्य दुई नेपाली विद्यार्थी सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै उक्त इन्स्टिच्युटमा भर्ना भएका थिए र उनीहरू कलेजको पहिलो अटोनोमस ब्याचका विद्यार्थी थिए।
उनी यो उचाइसम्म पुगेको देख्दा हामी धेरै खुसी छौँ। उनी धेरै समयपालक र आज्ञाकारी विद्यार्थी थिए। बालेन्द्र अलि शान्त स्वभावका थिए,’ प्राध्यापक श्रेयसले भने।
उनले थपे, ‘शाहभित्र एउटा र्यापर लुकेको भए तापनि उनले कलेज परिसरमा त्यो पाटो विरलै देखाउँथे।’
रोचक कुरा के छ भने, इन्स्टिच्युटमा रहँदा शाहले कुनै स्पष्ट राजनीतिक झुकाव देखाएका थिएनन्। बरु, प्राध्यापकहरू उनलाई उनको शैक्षिक प्रतिबद्धताका लागि सम्झन्छन्।
‘यहाँ विद्यार्थी हुँदा उनले प्रायः कुनै राजनीतिक झुकाव व्यक्त गर्दैनथे। तर पढाइमा उनी निकै गम्भीर थिए। उनीहरू धेरै जिज्ञासा बोकेर आउँथे र बेलुकाको समयमा समेत ती कुराहरू स्पष्ट पारेर मात्रै जान्थे,’ प्राध्यापक श्रेयसले स्मरण गरे।
एनएमआइटीका उपाध्यक्ष सन्दीप शास्त्रीले शाहलाई संस्थाको एक गौरवान्वित पूर्वविद्यार्थी मान्दै उनको यो उदयलाई विश्वविद्यालयका लागि ‘मुकुटको अर्को गहना’ को रूपमा वर्णन गरे।
‘हाम्रो जस्तो संस्थाका लागि यो ठुलो सम्मानको कुरा हो कि आठ वर्षअघि यहाँ पढेको व्यक्ति छिमेकी देशको सरकारको नेतृत्व गर्ने तहमा पुग्दैछ,’ उनले भने, ‘उनी एक मेहनती विद्यार्थी थिए जसले आफ्नो काम समयमै पूरा गर्थे, आफ्नो इन्टर्नसिप राम्रोसँग गर्थे र धेरै अनुशासित थिए। त्यतिबेला हामीसँग धेरै नेपाली विद्यार्थी थिए, र उनी अरूका लागि पनि प्रेरणाको स्रोत थिए।’