इरानका नयाँ सर्वोच्च नेता घोषित मोज्तबा खामेनी पनि घाइते
काठमाडौं-इरानका नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनीलाई गोली लागेको छ । इजरायल–अमेरिकी आक्रमणबाट खामेनी घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ । इरानको सरकारी टीभीले उनलाई बहादुर व्यक्तिका रूपमा वर्णन गर्दै दुस्मनको आक्रमणबाट घाइते भएको पुष्टि गरेको छ ।
यसअघि उनका श्रीमती, छोरीसँगै सर्वोच्च नेताका रुपमा रहेका बुवा अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो ।
त्यसयता मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन्। उनलाई आइतबार राति मात्र इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको छ।
यसअघि अमेरिकाले आफ्नो अनुमतिबिना सर्वोच्च नेता छनोट गरे त्यो पनि मारिने चेतावनी दिएको थियो।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन-क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन्।
साथै यस अवधिमा १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। मारिएका मानिसमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म छन्। जसमा २०० महिला छन्।
उनका अनुसार मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ। आक्रमणमा ४ डाक्टर, २ नर्स र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अनि ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्।