इरान युद्ध लम्बिँदै जाँदा ट्रम्प समस्यामा, सल्लाहकारद्वारा इरान युद्धको ‘एक्जिट प्लान’ माग

बुधबार, २७ फाल्गुन २०८२

काठमाडौं — इरानसँग जारी युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि अब उनकै केही सल्लाहकारहरूको दबाब बढ्दै गएको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’को रिपोर्ट अनुसार ट्रम्पका केही निकट सल्लाहकारहरूले निजी रूपमा उनलाई इरान युद्धबाट बाहिर निस्कन एउटा स्पष्ट ‘एक्जिट प्लान’ सार्वजनिक रूपमा पेस गर्न सल्लाह दिइरहेका छन् ।

ह्वाइट हाउसले यो रिपोर्टको खण्डन गरे पनि ट्रम्पका दुईवटा अभिव्यक्तिले यसको पुष्टि गरेका छन् । उनले सोमबार इरान युद्ध धेरै चाँडै समाप्त हुने र अमेरिका युद्धमा तय गरिएको समयभन्दा अगाडि चलिरहेको बताएका थिए ।

वाल स्ट्रिट जर्नलका अनुसार सल्लाहकारहरूको बुझाइमा अमेरिकी सेनाले यो अभियानमा आफ्ना धेरै प्रमुख सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको बताइएको छ । अब जनताका सामु युद्धको उद्देश्य लगभग पूरा भइसकेको सन्देश दिनु आवश्यक रहेको बताइएको छ ।

युद्धका घोषित लक्ष्यहरू के हुन् ?
अमेरिकी अधिकारीहरूका अनुसार यस युद्धका मुख्य लक्ष्यहरू विभिन्न तहमा तय गरिएका थिए । यसमा इरानको मिसाइल कार्यक्रम नष्ट गर्ने, उसको नौसेनालाई कमजोर बनाउने, मध्यपूर्वमा इरानद्वारा समर्थित ‘प्रोक्सी’ समूहहरूको सैन्य क्षमता समाप्त गर्ने र इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्ने विषय सामेल छन् ।

अमेरिका र उसको सहयोगी इजरायलले केही समयदेखि इरानका सैन्य अखडाहरू, मिसाइल बेस र नौसैनिक सुविधाहरूलाई निशाना बनाउँदै लगातार आक्रमण गरिरहेका छन् । पेन्टागनको मूल्यांकन अनुसार यस युद्ध अभियानमा अमेरिकाको खर्च दैनिक करिब एक अर्ब डलर पुगेको छ, जसले अमेरिकी अर्थतन्त्र र राजनीतिक वातावरणमा असर पारिरहेको छ ।

लामो युद्ध ट्रम्पका लागि राजनीतिक जोखिम
युद्ध लामो समयसम्म लम्बियो भने यसले राष्ट्रपतिको लोकप्रियतामा असर पार्न सक्ने रिपोर्टमा उल्लेख छ । हाल रिपब्लिकन पार्टीका अधिकांश नेताहरूले इरानमाथिको सैन्य कारबाहीलाई समर्थन गरे पनि पार्टीभित्रै पनि आउँदो निर्वाचनलाई लिएर चिन्ता व्यक्त गरिएको छ । ट्रम्पका समर्थकहरूले उनको साथ छोड्न सक्ने खतरा रहेको बताइएको छ । महँगीलाई लिएर अमेरिकी जनमत ट्रम्पको विपक्षमा हुँदै गएको छ ।

धेरै रिपब्लिकन नेताहरूले सल्लाहकारहरूसँग फोनमा सम्पर्क गरी युद्धको राजनीतिक प्रभाव के हुने र यसले मतदाताहरूको झुकाव कता जान सक्छ भनेर सोधखोज गरेका छन् ।

महँगी र तेलको मूल्य पनि चिन्ताको कारण
इरानसँगको संघर्ष बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । अमेरिकामा पेट्रोल र ग्यासको मूल्य बढ्न थालेको छ, जसले महँगीको दबाब बढाएको छ ।

यही कारणले ट्रम्पका केही सल्लाहकारहरू सरकार युद्धबारे बढी आक्रामक होस् भन्ने चाहन्छन्, कारण जनतालाई यो अभियान आवश्यक र सफल छ भन्ने विश्वास दिलाउन सकियोस् । यही कारण ट्रम्पले इरानले यो युद्ध हारिसकेको बयान लगातार दिइरहेका छन् । र, दिनमा कम्तीमा एकपटक इरानलाई कडा धम्की दिने गर्छन् ।