प्रदूषण स्वास्थ्यका निम्ति अत्यन्त खराब : मुटुदेखि पाचनप्रणालीसम्म असर

बिहिबार, २८ फाल्गुन २०८२

काठमाडौं — पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बढ्दो वायु प्रदूषणका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ । चिकित्सकहरूका अनुसार, विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा विभिन्न प्रकारका स्वास्थ्य समस्या बढ्दै गएका छन् ।

हालको मौसमी अवस्था र प्रदूषणका कारण रुघाखोकी, ज्वरो, एलर्जी, श्वासप्रश्वाससम्बन्धी समस्या तथा भाइरल संक्रमणको जोखिम उल्लेख्य रूपमा बढेको चिकित्सकहरू बताउँछन् । अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पछिल्ला दिनहरूमा यस्ता समस्याका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ ।

पूर्वस्वास्थ्यसचिव तथा स्वासप्रश्वास रोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार, अहिलेको मौसम मानव स्वास्थ्यका दृष्टिले निकै प्रतिकूल छ । वायुमण्डलमा विभिन्न प्रकारका हानिकारक तत्त्वहको मात्रा बढेकाले स्वास्थ्य समस्या थप बढेको उनी बताउँछन् ।

“अहिले वायुमण्डलमा ओजोन, सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, मर्करीलगायत प्रदूषक तत्त्वहरूको मात्रा बढेको छ,” डा. बमले भने, “यस्ता तत्त्वले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले अहिलेको मौसम स्वास्थ्यका लागि अत्यन्त खराब देखिएको छ ।”

उनका अनुसार, प्रदूषणको प्रभावका कारण दम, निमोनिया, एलर्जी, मुटु र मिर्गौलासम्बन्धी दीर्घरोग भएका बिरामीहरू बढी प्रभावित भइरहेका छन् । पछिल्ला दिनहरूमा दम बढ्ने, लगातार खोकी लाग्ने, लहरे खोकी सुरु हुने तथा श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढिरहेको चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार, यस्तो प्रदूषणले केवल श्वासप्रश्वास प्रणाली मात्र होइन, शरीरका अन्य अंगमा पनि असर गर्न सक्छ । श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मुटुसम्बन्धी समस्या बढ्ने तथा पाचन प्रणालीमा समेत असर देखिने समस्या बढिरहेको बताइएको छ ।

त्यस्तै, वातावरणीय प्रदूषणका कारण आँखासम्बन्धी समस्याहरू पनि बढ्दै गएका छन् । नेत्ररोग विशेषज्ञ डा. सविना श्रेष्ठका अनुसार, अहिलेको प्रदूषणका कारण आँखामा संक्रमण र एलर्जीका समस्या उल्लेख्य रूपमा बढेका छन् ।

डा. श्रेष्ठ भन्छिन्, “अहिलेको प्रदूषणका कारण आँखा चिलाउने, सुक्खा हुने, पोल्ने तथा रातो हुनेजस्ता समस्या बढेका छन् । विशेष गरी बाहिर काम गर्ने व्यक्तिहरूमा यस्तो समस्या बढी देखिएको छ । अरू समयको तुलनामा अहिले आँखाको संक्रमणका बिरामी अस्पतालमा बढी आइरहेका छन् ।”

उनका अनुसार, धुलो, धुवाँ र प्रदूषणका कारण आँखामा एलर्जी हुने, आँसु आउने, आँखा पोल्ने र हेर्न गाह्रो हुने समस्या बढेको छ ।

चिकित्सकले प्रदूषणबाट आँखा जोगाउन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, निस्कनु परेमा कालो चस्मा तथा मास्कको प्रयोग गर्ने, बाहिरबाट फर्किएपछि सफा पिउने पानीले आँखा धुने तथा संक्रमण बढी भएमा चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै, बाहिर निस्कँदा आँखालाई धुलो र धुवाँबाट जोगाउन कालो चस्मा प्रयोग गर्न पनि चिकित्सकले सुझाएका छन् ।

स्वास्थ्यविज्ञका अनुसार, यस्तो मौसममा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । पर्याप्त पानी पिउने, पौष्टिक खाना खाने, धुलो–धुवाँबाट टाढा रहने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनेजस्ता सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।

त्यस्तै, घरभित्र पनि हावाको गुणस्तरमा ध्यान दिन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्ने, घरको वातावरण स्वच्छ राख्ने तथा धुवाँ, धुलो कम हुने उपाय अपनाउन पनि स्वास्थ्यविज्ञले आग्रह गरेका छन् ।

चिकित्सकका अनुसार, अहिलेको वातावरणीय अवस्था र प्रदूषणको प्रभावलाई मध्यनजर गर्दै सरकारले पनि जनस्वास्थ्यका लागि आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । साथै, नागरिक पनि आफ्नो स्वास्थ्यप्रति सजग हुँदै आवश्यक सावधानी अपनाए यस्तो स्वास्थ्य जोखिमलाई कम गर्न सकिने चिकित्सकको भनाइ छ ।