रास्वपका अर्का निर्वाचित सांसद पनि कालो सूचिमा

बिहिबार, २८ फाल्गुन २०८२

काठमाडौं—रास्वपका अर्का निर्वाचित सांसद पनि कालो सूचिमा परेका छन् । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि पटक–पटक चेक बाउन्स प्रकरणमा मुछिएपछि विभिन्न मितिमा कालो सूचीमा राखिएको थियो। निर्वाचन आयोगको नतिजाअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका थिए। तर निर्वाचनपछि सार्वजनिक भएको विवरणले उनको आर्थिक पृष्ठभूमिबारे विवाद उत्पन्न भएको छ।

०७९ कात्तिक २५ गते पहिलोपल्ट कालो सूची (४८४१०) मा परेका थिए । कालो सूचीमा परेपछि पनि उनले एक करोड ५५ लाखको चेक काटे । त्यो पनि नसाटिएपछि दोस्रो पटक सोही वर्षको चैत १५ मा फेरि कालो सूचीमा परे । त्यतिबेला कर्जा सूचना केन्द्रले तामाङसहित उनको कम्पनी (मकालु कान्जिरुवा अटो लिंक प्रालि) र लीला राईलाई पनि कालो सूची (५७८२३)मा राखेको थियो ।

तामाङको बलमिच्याई त्यतिकैमा रोकिएन । उनले ०८० भदौ ५ गते पनि पैसा नै नभएको खाताबाट २२ लाख ५० हजारको चेक काटे,जुन साटिएन । त्यसपछि कर्जा सूचना केन्द्रले सोही वर्षको माघ २५ गते पुनः तामाङ,लीला राई र मकालु कान्जिरोवा अटो लिंक प्रालिलाई कालोसूची (१०१५१४)मा राखेको छ ।

यसरी पटक पटक बैंकिङ कसुर गरेर कालोसूचीमा परेको व्यक्तिको उम्मेदवारीलाई निर्वाचन आयोगले कसरी अनुमोदन गर्यो ? वा किन अनदेखा गर्यो ? गम्भीर प्रश्न उठेको छ । र प्रतिनिधिसभा निर्वाचन ऐन ०७४ को दफा १३ को खण्ड (ज) अनुसार कालो सूचीमा रहेको व्यक्ति प्रथम दृष्टिकोणमै अयोग्य ठहरिने प्रावधान छ । तर निर्वाचन आयोगले ऐन नै लत्याएर तामाङको उम्मेदवारी स्वीकृति दिनु र कुनै दललाई मात्र अनुकूल हुनेगरी निर्वाचनको वातावरण बनाउनुले गम्भीर प्रश्न उठाएको छ ।

यसलाई आयोगले कारणवश ‘त्रुटी’ भनेमा त्यो मान्य हुने अवस्था समेत देखिँदैन । किनकि, निर्वाचनअघि कर्जा सूचना केन्द्रले कालो सूचीमा रहेका उम्मेदवारहरुको सूची आयोगलाई बुझाएको थियो । केन्द्रका सूचना अधिकारी विजय कुँवरका अनुसार निर्वाचनअघि आयोगले उम्मेदवारहरुको सूची पठाएर उनीहरु कालो सूचीमा भए ? नभएको प्रमाणित प्रतिलिपि मागेको थियो । ‘त्यसपछि हामीले हालसम्म कालो सूचीमा यथावत रहेका उम्मेदवारहरुको ‘भेरिफाइ’ गर्दै एउटा सूची बनाएर आयोगलाई पठायौँ’, अधिकारीले भने, ‘त्यो सूचीमा उहाँ (तामाङ) र उहाँको कम्पनी पनि थियो,अहिले पनि यथावत नै छ,तर आयोगले किन त्यो सूचीअनुसार कारवाही अघि बढाएन, थाहा छैन ।’