अमेरिका, इजरायल र इरान युद्धमा परी झण्डै २ हजार मानिसको मृत्यु
काठमाडौं—अमेरिका, इजरायल र इरान युद्धमा परी झण्डै २ हजार मानिसको मृत्यु भएको छ । युद्धको १३ दिनसम्म अमेरिकी इजरायली आक्रमणमा परी १ सय ७५ विद्यार्थीसहित इरानमा कम्तीमा १४ सय बढी सर्वसाधारण मारिएका छन् ।
इरानको जवाफी आक्रमणमा लेबनानमा ५७० जनाको मृत्यु भएको छ भने विभिन्न खाडी मुलुकमा ७ अमेरिकी सेनाको मृत्यु भएको अलजजिराले जनाएको छ । इरानी आक्रमणमा कति इजरायलीको मृत्यु भयो भन्ने खुलेको छैन ।
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १३ औं दिनमा प्रवेश गरेको छ । तेहरानका अनुसार देशभर करिब १० हजार नागरिकस्थलमा बमबारी भएको छ । जसमा १,३०० बढी सर्वसाधारण मारिएका छन् ।
मंगलबार राति तेहरानको मेहराबाद विमानस्थलसहित विभिन्न स्थानमा बम आक्रमण गरिएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण जारी राखेको छ । यसले विश्व ऊर्जा मूल्यमा समेत तीव्र वृद्धि गराएको छ ।
यसबीच वासिङ्टनमा पनि राजनीतिक दबाब बढ्दै गएको छ । अमेरिकी सांसदहरूले युद्धको उद्देश्यबारे सार्वजनिक सुनुवाइ गर्न माग गरेका छन् र अमेरिकी सैनिक हताहती बढ्दै जाँदा प्रशासनको रणनीतिमाथि प्रश्न उठाएका छन् ।
तेहरानका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिका र इजरायलले करिब १० हजार नागरिकस्थलमा आक्रमण गरेका छन्, जसका कारण १,३०० भन्दा बढी नागरिक मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावानीले अमेरिका र इजरायलले घर तथा स्वास्थ्य केन्द्रसहित नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको आरोप लगाएका छन् ।
मध्य तेहरानको आवासीय क्षेत्रमा इजरायली हवाई आक्रमणपछि शक्तिशाली विस्फोट सुनिएको बताइएको छ । रेड क्रिसेन्टका अनुसार एक आवासीय भवनमा प्रहार भएको छ र उद्धार टोलीले भग्नावशेषभित्र मानिस खोजिरहेका छन् ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोरले ३७ औं चरणको आक्रमण गर्दै ‘सुपर–हेभी खोरमशहर’ मिसाइल प्रहार गरेको जनाएको छ। तीन घण्टाभन्दा बढी चलेको यो आक्रमणमा तेलअभिव, हाइफा र पश्चिम यरुशलमका साथै इराकको एरबिल, बहरेनको मनामा लगायत अमेरिकी आधारहरूलाई निशाना बनाइएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मंगलबारलाई ‘सबैभन्दा तीव्र आक्रमणको दिन’ हुने चेतावनी दिएका थिए । तेहरानका कम्तीमा आठ जिल्लामा आक्रमण भएको र ठूलो विस्फोट सुनिएको रिपोर्ट आएको छ ।
इरानका प्रहरी प्रमुख अहमद–रेजा रादनले देशका शत्रुलाई समर्थन गर्नेहरूलाई अब प्रदर्शनकारी होइन, शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले तेल डिपोमा आक्रमणपछि उत्पन्न धुवाँ वर्षासँग मिसिएर ‘कालो वर्षा’ हुन सक्ने र त्यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।
कतारले मध्यपूर्वमा तनाव घटाउन र इरान तथा अमेरिका वार्तामा फर्किन आग्रह गरेको छ ।
यूएईको रुवाइस रिफाइनरीमा ड्रोन आक्रमणपछि सावधानीका रूपमा सञ्चालन बन्द गरिएको छ । कुवेतमा अमेरिकी बेस लक्ष्य–इरानी रिभोलुसनरी गार्डका अनुसार कुवेतस्थित अमेरिकी बेसतर्फ कम्तीमा दुई मिसाइल प्रहार गरिएको छ ।
बेलायती सेनाका अनुसार अज्ञात प्रक्षेप्य लागेपछि एक कार्गो जहाजमा आगलागी भएको छ र चालक दलले उद्धारको अनुरोध गरेको छ।
अमेरिकाभित्र के–के भयो ?
कंग्रेसको दबाब
युद्धको उद्देश्य र अवधि स्पष्ट नभएको भन्दै अमेरिकी सिनेटका डेमोक्र्याट सांसदहरूले सार्वजनिक सुनुवाइको माग गरेका छन् ।
अमेरिकी सैनिक क्षति
पेन्टागनका अनुसार ‘अपरेसन एपिक फ्युरी’ सुरु भएदेखि हालसम्म १४० अमेरिकी सैनिक घाइते भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
स्कुलमा भएको आक्रमणको अनुसन्धान
इरानको एक बालिका विद्यालयमा भएको आक्रमणमा करिब १७५ विद्यार्थीको मृत्यु भएको घटनाबारे अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ ।
हर्मुजमा इरानी जहाज नष्ट
अमेरिकी सेनाले हर्मुज जलडमरु नजिक इरानका १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरेको जनाएको छ ।
नागरिकको उद्धार–मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
इजरायलमा इरानी मिसाइल आक्रमण
इजरायली मिडियाका अनुसार इरानले प्रहार गरेका सबै मिसाइलहरू अवरोध गरिएको छ, तर तेलअभिव लगायत क्षेत्रमा साइरन बजेको थियो ।
तेल संरचनामा आक्रमणबारे अमेरिकी असन्तुष्टि
अमेरिकाले इजरायललाई इरानका ऊर्जा संरचनामा हमला नगर्न चेतावनी दिएको खबर आएको छ ।
साइबर जासुसी
इजरायलको साइबर सुरक्षा निकायले इरानी ह्याकर्सले सुरक्षा क्यामेरामा घुसपैठ गरेको जनाएको छ ।
लेबनान र इराक
लेबनानमा तीव्र आक्रमण
बेरुतको आवासीय भवनमा इरानी बमबारी हुँदा ठूलो क्षति भएको छ । गत सोमबारदेखि कम्तीमा ५७० जनाको मृत्यु भएको बताइएको छ ।
इरानी कूटनीतिज्ञको हत्या
बेरुतमा भएको आक्रमणमा चार इरानी कूटनीतिज्ञ मारिएपछि इरानले संयुक्त राष्ट्रसंघमा न्यायको माग गरेको छ ।
विस्थापन
संयुक्त राष्ट्रसंघका अनुसार लेबनानमा ६ लाख ६७ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
इराकमा हवाई आक्रमण
इराकका प्रधानमन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई आफ्नो देशलाई आक्रमणको आधारस्थल नबनाउन आग्रह गरेका छन् । इराकको कुर्दिस्तान क्षेत्रमा इरानले आक्रमण गरेको बताइएको छ ।