शोभिता गौतम प्रतिनिधिसभाको सभामुख बन्ने

शुक्रबार, २९ फाल्गुन २०८२

काठमाडौं—रेणु दाहाललाई हराएर दोश्रो पटक संसद छिरेकी शोभिता गौतम प्रतिनिधिसभाको सभामुख बन्ने भएकी छन् । कानुनी ज्ञान र संसदीय अभ्यासको अनुभव भएकी गौतमलाई रास्वपाले सभामुख बनाउने भएको हो । नयाँ सरकार गठनको अनौपचारिक तयारी भइरहेका बेलामा सोभिताको नाम मन्त्रीको लिस्टमा भन्दा सभामुखको लिस्टमा छ । पूर्वसंचार मन्त्री जगदिश खरेलले र पूर्वउपसभामुख इन्दिरा रानामगरले पनि सभामुखमा दावि गरेपनि सभापति रवि लामिछानेको रोजाईमा शोभिता परेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको अनौपचारिक तयारी थालेसँगै सभामुख,उपसभामुख,केही मन्त्रालयको जिम्मेवारी लिने सम्भावित मन्त्रीहरुबारे गाईंगुईं चलेको छ । झण्डै दुई तिहाई बहुमत रहेको रास्वपाका प्रत्यक्ष निर्वाचित १२५ जनाको नाम तय भइसकेको छ । अब समानुपातिक सूचीबाट ५७ जना थपिँदैछन् ।

यस्तो अवस्थामा नयाँ सभामुखका लागि केही युवा सांसदले चासो राखेको स्रोतको दावी छ । विशेषगरी जगदीश खरेलले आगामी सभामुख या सन्चारमन्त्रीमा आफूलाई उभ्याएको स्रोतको दावी छ । ‘कानुनी पृष्ठभूमिका नभए पनि उनले मिडियाकर्मीको नाताले विशेषगरी टेलिभिजन प्रस्तोताको अनुभवको आधारमा सभामुखका लागि आफू योग्य रहेको बताउँदै लबिङ थालेका हुन्,’ बालुवाटार निकटस्थ स्रोतले बतायो ।

सभामुख नपाएको अवस्थामा जगदीशले सञ्चारमन्त्रीमा दोहोरिने इच्छा राखेको बताइन्छ । उनको इच्छा पूरा भएमा रास्वपा प्रवक्ता तथा धनुषा ३ बाट निर्वाचित मनिष झालाई अप्ठेरो पर्ने देखिन्छ । झाले यसअघि नै आफू सञ्चारमन्त्रीको लागि तयार रहेको सार्वजनिक जानकारी दिइसकेका थिए ।

यसअघि सञ्चारमन्त्रीबाट राजीनामा दिएर ललितपुर क्षेत्र नम्बर २ को निर्वाचनमा होमिएका खरेलले नेपाल टेलिकम,नेपाल दूरसञ्चार प्राधिकरणमा प्रक्रियामा रहेका कतिपय ठेक्काको काम रोकिदिएका थिए । राजीनामा दिनुअघि मन्त्रालयका सचिव राधिका अर्याललाई सरुवा गराएर दोलखा घर भएकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ल्याएका थिए । टेलिकम,प्राधिकरणअन्तर्गत अर्बौं लागतका अधिकांश परियोजनामा बिदेशी कम्पनीहरुको ठूलो रुचि छ ।

उता मनिष झालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन नसक्दा पर्यटन वा शहरी विकास दिन सकिने लाइनबाट पनि अनौपचारिक छलफल अघि बढाइएको अवस्था छ ।

पार्टीभित्र भने यसअघि उपसभामुख रहेकी इन्दिरा रानामगर वा पहिले काठमाडौं २, अहिले चितवन ३ बाट विजयी सोबिता गौतम मध्ये एकलाई सभामुख बनाउने ढंगले कुरा चलाइएको अर्को स्रोतको भनाइ छ । उपसभामुख अर्कै पार्टीको र सभामुखभन्दा फरक लिंगको हुनुपर्ने भएकाले विपक्षीमध्ये नेकपाको तर्फबाट एकजना उपसभामुख हुने सम्भावना पनि देखिन्छ । रास्वपा स्रोत भन्छ, ‘नेकपातर्फ उपसभामुखको संकेत बुझिन्छ ।’