प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रपति नबन्ने घोषणा

आइतबार, १ चैत्र २०८२

काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले आफू राष्ट्रपति नबन्ने घोषणा गरेकी छन् । सफलतापूर्वक निर्वाचन गराएर विदा हुन लागेकी कार्कीले आफूभन्दा लायक र अवसर नपाएका मान्छेले उक्त अवसर पाउनुपर्ने तर्क गर्दै राष्ट्रपति नबन्ने घोषणा गरेकी हुन् । एक राष्ट्रिय मिडियासँगको अन्तरवार्तामा उनले आफू पुरानै निजी दैनिकीमा फर्किएर व्यक्तिगत जीवन जिउने योजनामा रहेको बताएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर २१ फागुनमा प्रतिनिधिसभाको शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकी छन्।

निर्वाचन सफल बनाउन उनले निर्वाचन आयोग, सुरक्षा निकाय र मन्त्रीहरूको सहयोगलाई महत्वपूर्ण ठानेकी छन् र सबैलाई धन्यवाद दिएकी छन्।
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले जेनजी आन्दोलनका माग पूरा गरी सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीमा सुधार गर्नुपर्ने बताएकी छन्।

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् ।

निर्वाचन हुने—नहुने भन्ने संशयकाबीच २१ फागुनमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ ।

मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन । तर, देशको चिन्ता सबैलाई थियो । एउटा अनिश्चयकाबीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो । देशको बारेमा चिन्ता गर्ने, मुलुकको भलाइ चाहने सबै खुसी छन् । म पनि खुसी छु । सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो । त्यो हामीले समयमै पूरा गर्न सक्यौँ । आनन्दजस्तो महसुस भएको छ,उनले भनिन् ।