बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधानमन्त्रीका लागि अनुमोदन

आइतबार, १ चैत्र २०८२

काठमाडौं—बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधानमन्त्रीका लागि अनुमोदन गरेको छ । आज बसेको सचिवालय बैठकले बालेनलाई दलको नेता र प्रधानमन्त्रीको रुपमा स्वीकार गर्दै औपचारिक रुपमै अनुमोदन गरेको हो ।

बैठकले रविले पार्टी चलाउने र बालेनले सरकार चलाउने गरी गत पुस दोस्रो साता दुई नेताबीच भएको सात बुँदे सम्झौता पनि अनुमोदन गरेको छ । सहमतिपछि कतिपय नेता तथा कार्यकर्ता पंक्तिमा असन्तुष्टी छाएको थियो ।

उपसभापति डिपी अर्यालले विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित उम्मेदवारहरुलाई ‘हाम्रो प्रधानमन्त्री बालेन हो’ भन्दै तत्काल कुनै मिडियामा अन्तर्वार्ता नदिन उर्दी जारी गरेको विषय समेत सार्वजनिक भएको थियो । तर आज बसेको सचिवालय बैठकले सर्वसम्मत रुपमा विधान संशोधन गर्ने र बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले समानुपातिकतर्फ ५७ जनाको नामसमेत टुंगो लगाएको छ । यद्यपि, सूचीमा को को परे,खुलेको छैन । निर्वाचन आयोगले नामावली रुजु गरेर स्वीकृत गरेपछि नाम सार्वजनिक गरिने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार खस आर्यबाट १७,आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम फाइनल भएको छ ।