इनिसाले डाक्टर-इन्जिनियर बन्छु भनेपछि पैसा कमाउन विदेशिएका थिए बाबु

सोमबार, २ चैत्र २०८२

काठमाडौं— इन्द्रबहादुर विक ६ वर्षअघि नेपाल छाडेर सुरक्षा गार्डको काम गर्न दुबईमा जानुको एउटै कारण थियो, नेपाली सेनाबाट पाएको पेन्सनले दैनिक जीवन चलाउन पुग्थ्यो तर त्यति मात्र उनको बढ्दो खर्च धान्न पर्याप्त थिएन ।

त्यसमाथि झन् हुर्किरहेकी छोरी इनिसाका सपना भने ठूला थिए । कहिले डाक्टर बन्छु भन्थिन्, कहिले इन्जिनियर त कहिले सेनाको अधिकृत । किशोरावस्थाको स्वभावैअनुसार उनको मन फेरिइरहन्थ्यो । इन्द्रबहादुरले सोचे, छोरीको सपना पूरा गर्न पैसा चाहिन्छ र त्यसका लागि टाढा जानुपर्छ । ‘छोरीको त्यही सपना साकार पार्न विदेश गएको थिएँ,’ उनले भने, ‘तर उनको सपना बीच बाटोमै लुटियो ।’

१६ वर्षीया इनिसा २३ फागुनको शनिबार सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परिन् । प्रहरी र स्थानीयले उनलाई करिब ३ किलोमिटर टाढाको प्रदेश अस्पताल पुर्‍याए ।

चिकित्सकले अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको घोषणा गरे । पोस्टमार्टम रिपोर्टले यौनांगमा गहिरो चोटका कारण अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि गर्‍यो । भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले बलपूर्वक यौनसम्पर्क भएको देखिएको बताए । घटनामा संलग्न भएको आरोपमा ४ नाबालक पक्राउ परेका छन् ।

खबर पाउनासाथ इन्द्रबहादुर दुबईबाट स्वदेश फर्कन खोजे तर सकेनन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विमानस्थल बन्द थियो । तीन दिनपछि मात्र उनी नेपाल आए । अहिले उनको एउटै माग छ– छोरीलाई न्याय । न्याय नपाएसम्म शव नबुझ्ने उनको अडान छ । ‘घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको छ,’ उनले भने, ‘संलग्नलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउनुपर्छ ।’