काठमाडौंबाट रारा ताल घुम्न गएकी एक महिलाको मृत्यु
काठमाडौं—काठमाडौंबाट रारा ताल घुम्न गएकी एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरेको लेक लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घिमिरे आफ्ना दुई साथी शिशिर कोइराला र विशाल सुवेदीसँग घुम्न रारा पुगेकी थिइन् । तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए ।
घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनीसँगै रहेका अन्य दुई जना शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) दुवै बाँके जिल्लाका रहेको जनाइएको छ ।
रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो । मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको र उनको परिचय खुल्ने मोबाइल तथा अन्य सामान भने रारा क्षेत्रको उक्त होटलमै रहेको जनाइएको छ ।
मृतकको लेक लागेर मृत्यु भएको आशंका गरिए पनि यसबारे थप जानकारी पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।