केक्यानका पूर्वअध्यक्ष र नेक्साका अध्यक्षसहित दर्जनौं कन्सल्टेन्सीविरुद्ध उजुरी
काठमाडौं – नेपाली विद्यार्थीलाई अध्ययनका लागि दक्षिण कोरिया पठाउने शैक्षिक कन्सल्टेन्सीका दुई छाता संगठनकै नेतृत्वसहित दर्जनौं शैक्षिक परामर्श व्यवसायीविरुद्ध विद्यार्थी ठगेको आरोप लागेको छ । कोरिया शैक्षिक परामर्श व्यवसायी संघ (केक्यान)का निवर्तमान अध्यक्ष गणेश शर्मा, नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)का अध्यक्ष सन्तोष खनालसहित थुप्रै शैक्षिक कन्सल्टेन्सीविरुद्ध विद्यार्थी ठगेको आरोप लागेको हो ।
शर्माको एसडि मिराकल र खनालको सिल्भर एजुकेशन फाउण्डेशनसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त १३ कन्सल्टेन्सी र विभिन्न प्रदेशको समाजिक विकास मन्त्रालयबाट स्वीकृति प्राप्त ३५ बढी कन्सल्टेन्सीविरुद्ध ४ सय ४५ जना विद्यार्थीले कोरियास्थित नेपाली दूतावासमा उजुरी गरेका हुन् । विद्यार्थीले भिसा कोडका नाममा ठूलो रकम उठाएर ठगी गरेको आरोप लगाएका छन् ।
दूतावासमा परेको उजुरी नेपालस्थित परराष्ट्र मन्त्रालय हुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा पुगेको छ । शाखाले कन्सल्टेन्सीविरुद्ध आएका ठगीसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको छ । मन्त्रालयबाट स्वीकृति लिएर संचालनमा आएका शैक्षिक परामर्श संस्थाको उजुरीबारे शाखाले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने शाखा प्रमुख तथा उपसचिव शेमन्तराज कोइरालाले बताएका छन् ।
‘विद्यार्थीले गरेको उजुरी परराष्ट्रबाट शिक्षा मन्त्रालय हुँदै म कहाँ आइपुगेको छ ।’, शाखा प्रमुख कोइरालाले भने, ‘हाम्रो कार्यक्षेत्रमा पर्ने १३ बटा शैक्षिक कन्सल्टेन्सीविरुद्ध उजुरी आएको छ । हामीले उजुरीको छानबिन गरी कारबाहीका लागि गृहमन्त्रालय पठाउने तयारी गरेका छौं ।’ उनले प्रदेशबाट स्वीकृति लिएका वा स्वीकृति नलिएर संचालन भएका कन्सल्टेन्सीहरुको हकमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
मंगलबार शाखा कार्यालयमा भेटिएका कोइरालाले कुन–कुन कन्सल्टेन्सीविरुद्ध उजुरी आएको छ भनेर खुलाउन चाहेनन् । ‘अनुसन्धान प्रभावित हुने भएकाले अहिल्यै लिस्ट सार्वजनिक नगरौं, तर यत्ति बुझ्नुहोस् कोरिया काम गर्ने ठूला सबै कन्सल्टेन्सीविरुद्ध उजुरी आएको छ ।’, उनले भने । उजुरीमा ८ लाखदेखि २५ लाखसम्म रकम लिएर ठगी गरेको विद्यार्थीको आरोप छ । विद्यार्थीले ठगी गर्ने कन्सल्टेन्सीको स्विकृति खारेज गर्न, कन्सल्टेन्सी संचालकलाई कालोसूचीमा राख्न र आफूबाट लिएको रकम फिर्ता गरिदिन माग गरेका छन् ।
विश्वस्त श्रोतका अनुसार सिल्भर एजुकेशन फाउण्डेशनविरुद्ध चार जना विद्यार्थीले उजुरी गरेका छन् भने एसडी मिराकलविरुद्ध केही विद्यार्थीले उजुरी गरेका छन् । सिल्भरले डि४ भिसाको काम आफूले नगर्ने भएकाले आफ्नो संस्थाविरुद्ध उजुरी नआएको हुनसक्ने दावि गरेको छ । कोइरालाले सिल्भरविरुद्ध कम्तिमा ४ जना विद्यार्थीले उजुरी गरेको पुष्टि गरेका छन् । दूतावासमा डि२ भिसा भएका विद्यार्थीले समेत उजुरी गरेका थिए ।
सुरुमा नेपालबाट अध्ययनका लागि कोरिया गएका विद्यार्थी भोजराज भट्टले महङ्गो शुल्क लिने शैक्षिक कन्सल्टेन्सीविरुद्ध आवाज उठाएका थिए । सामाजिक संजाल टिकटकमार्फत डि२–कोडभिसा, डि४–१ र डि४–७ भिसाका नाममा शैक्षिक कन्सल्टेन्सीले ठगी गरिरहेको भन्दै भिडियो बनाएका थिए । उनले बनाएको उक्त भिडियो भाइरल भएपछि पीडित विद्यार्थी उनको सम्पर्कमा आएका थिए ।
सम्पर्कमा आएका विद्यार्थीसहित भोजराजले दूतावासमा उजुरी गरेको श्रोतको दावि छ । उनीहरुले संगठित रुपमा गरेको उजुरी कोरियास्थित नेपाली दूतावासले नेपालस्थित पराराष्ट्र मन्त्रालयमा पठाएको थियो । सोही उजुरीमा अहिले शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले अनुसन्धान गरिरहेको छ ।
१ वर्षअघि खुलेको नेक्सा र पुरानो संस्था केक्यानबीच पानी बाराबारको स्थिति छ । उनीहरुबिचको व्यवसायी द्वन्द्ध, एकले अर्काको अस्थित्व नस्वीकार्ने र सिध्याउने खेले खेलेपछि यसको फाइदा कोरियामा रहेका नेपालीसँग सम्बन्धीत संघ/संस्थाले लिएका छन् । उनीहरुको प्रभावमा परेर दूतावाससमेत व्यवसाय धराशायी बनाउन लागेको परामर्श व्यवसायीको आरोप छ । केक्यान फुटेर १ अघि नेक्सा खुलेको थियो ।