२७ मिनेटमै सकियो प्रतिनिधि सभाको बैठक
काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठक निकै छोटो र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको उक्त बैठक केवल २७ मिनेटमै सकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद ९डीपी० अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएसँगै बैठक सकिएको हो। बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए। सभामुखका लागि अर्यालको मात्र उम्मेदवारी परेको जानकारी गराउँदै उनले प्रस्तावक र समर्थकहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।
प्रस्तावकको रूपमा रोस्ट्रममा पुगेका रास्वपा सभापति रवि लामिछानेले निकै संक्षिप्त सम्बोधन गरे। उनले अन्य राजनीतिक दलहरूले उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेकोमा धन्यवाद दिँदै सदनको महत्त्वपूर्ण समय धेरै खर्च गर्न आवश्यक नरहेको बताए। ‘सबै दलको सहमति भइसकेको अवस्थामा म धेरै बोलेर सदनको समय लिन चाहन्न, ‘उनले भने ।
उनले अर्यालको कार्यक्षमता र इमानदारिताले सदनको गरिमा बढ्ने विश्वास व्यक्त गरे। उनले संसदमा बोल्नका लागि १० मिनेट समय पाएपनि सो समय उपयोग नगरेका हुन् । विगतमा तोकिएको समयमा दलका सांसदहरुले लम्बेतान भाषण गर्ने परम्परा रहेको थियो ।