उपन्यास : रुपै रुपको कहानी
यो शहर जहाँ हजारौ मानिसहरुको अस्तित्व छ । प्रत्येक मानिसहरुको आ–आफ्नै बान्कीको रुप । कोही कालो, कोही गोरो, कसैको नाक थेप्चो, कसैको नाक चुच्चो, कसैका गालामा फूल फुल्न बसन्त कुर्नु पर्दैन त कसैका गाला बसन्तमा पनि शुष्क र उजाड । सुन्दर र असुन्दर रुपको भीडमा यहाँ रुपै रुपको चर्चा छ । बाहय रुपै रुपको चर्चा हुने यो शहरमा यस्तो लाग्छ, मानौ असुन्दर रुप बोकेर यो धर्तीमा ओर्लनु ठूलो अभिशाप हो । यस्तै सुन्दर र असुन्दर रुपको भीडमा एक असुन्दर रुप बोकेकी नारी ज्योत्स्ना, एक त्यस्तो कुरुप रुपको प्रतिनिधि, जो अरुको हजार घृनाको थुकमा तलाउ सृजना गरी संघर्षको कमल फुलाउँदै छिन् । आफ्नो बाहय रुप जे जस्तै भए पनि बाँच्ने संघर्ष गर्दै छिन् र आफ्नो रुपको अस्तित्वका लागि भौँतारिएकी छिन् । त्यही अस्तित्वको खोजिको क्रममा उनी एक निजि विद्यालयमा शिक्षिका बनेर कलिला बालबालिकालाई शिक्षा दिन्छिन् र त्यहाँबाट कमाएको आम्दानीले आफ्नो घरपरिवार चलाउँदै आएकी छन् ।
ज्योत्स्नाको जन्मिँदै अनुहार डढेको थियो । शिशु हुन्जेल त यस कुरामा कति पनि चेतना भएन । त्यो कुरुप शिशुलाई कतिले काखमा लिएन, कतिले त्यस्को कोमल मुहारमा म्वाई जडेन, त्यस्को लेखाजोखा छैन । तर, जव उनलाई चेतना भयो कि उनी पनि एक रुपको प्रतिनिधि हुन् । जव उनले पनि आफ्नो रुपको अस्तित्वको लागि ऐनासँग सानो हिस्सा दाबी गरिन्, आफ्नो जन्मजात कालो मुहार, त्यस्मा एक अमीट दाग देखेर अनायासै आँसु छचल्किए । आफ्नो मुहार ऐनामा बिसाउँदै उनी घण्टौ रुन्थिन् । त्यो कुरुप मुहारले उनीभित्र छरिएका सपनाहरु कुल्चेर जान्थ्यो । सबैलाई यो संसारमा आआफ्नो मुहार प्रिय छ, तर उनको लागि कैले पनि आफ्नो मुुहार प्रिय लागेन । उनी सोच्छिन्, भगवान्ले सबैको मुहार फरक फरक नबनाई, एउटै बनाइदिएको भए कति जाती हुन्थ्यो । यदि एउटै रुप र रंगमा यहाँ मानिसहरु सृजना गरेको भए सबै बाह्य रुपको अस्तित्व मिसिन्थ्यो र समुन्द्रको पानीमा कुनै थोपाको आफ्नै अस्तित्व नभएजस्तै मै हुँ भन्ने रुपहरुको अस्तित्व पनि विलुप्त हुन्थ्यो । सुन्दरता केवल मनले चिनिन्थ्यो । यस्ता कुराहरु मनभरि खेलाउँदा खेलाउँदै उस्को चुच्चो नाकमा आँसुको थोपा झरेर प्रकाशित हुन्थ्यो । उनले जति कान थुने पनि उनको कानमा एक आवाज गुँजिरहन्छ – ‘मान्छे हाँडी जस्तो कालो भए पनि नाम भने ज्योत्स्ना ।’ आफ्नो पिताप्रति असन्तुष्ट हजुरबुबाको यो टिप्पणी उनको मुटुमा अझै पनि काँडा जस्तो बिझाइरहेको छ । आफ्नो असुन्दर मुहारमा आफ्नै हजुरबुबाको सहानुभूति छैन भने अरुले के छामोस् मायाले त्यो दयनीय अनुहारलाई ?
मानिसहरु अठाइसको उमेरमा पुग्दा छातीभित्र थुप्रै सपना बुन्छन् । तर त्यो भीडमा ज्योत्स्ना एक्लो पात्र थियो, जस्को छातीमा सपनाको खरानीसिवाय केही छैन । यौनेच्छा उनीभित्र पनि छ । रोमाञ्चक उपन्यासहरु छातीमा च्यापेर सुत्थिन् । उपन्यासका रोमाञ्चक अध्यायहरुमा तृष्णाका आँसुहरु बगाउँछिन् । कसैकी प्रेमिका भएर कुनै पुरुषको बलिष्ठ पाखुरामा अँचेटिने रहर उनीभित्र पनि गुम्सिएको छ । उनलाई यो कुराको राम्रो हेक्का थियो कि बाह्य रुप जोखिने यो शहरमा, उनी जस्तो कुरुप नारीलाई प्रेम गर्ने कुनै अधिकार छैन ।
कक्षा छ पढ्दाखेरि उनलाई एक केटा निकै मन परेको थियो । त्यस केटाको लागि पानाको टुक्रामा के के लेखेर बस्थिन् । तर कैले पनि आफ्नो माया व्यक्त गर्ने हिम्मत उनमा भएन । त्यस केटाले कैले पनि उनलाई मायाले एक नजर हेरेन । कैलेकाँही संयोगले आँखा जुधे पनि घृणाको नजर हेरिदिन्थ्यो । मायाले घण्टौंको पर्खाइपछिको नजरमा पनि घृणाको बाक्लो डेरा पाउँदा, उनले आफूभित्र उम्लिएको मायाले सम्झाउँथिन् –यो संसार तिम्रो लागि होइन, किनभने तिमी कुरुप अनुहारको पर्दाभित्र छौ । त्यसपछि उनले आफ्नै मन बुझाइन् – नारी जीवनमा एक्लै बाँच्न सक्छिन् । बाँच्नका लागि कसैको सहारा आवश्यक छैन । जीवन सुन्यतामा पनि अगाडि बढ्छ । ताराले जगमग भएको पूर्णिमा होस् कि ताराबिनाको औँशी नै, हरेक रात बिहानीसम्म पुगेरै टुँगिन्छ । कक्षा छ देखि दशसम्म मनको एक कुनामा सजाएको त्यस केटाको प्रेमले पूर्णविराम तब लियो, जव त्यस केटाको नाममा कागजको एक टुक्रामा के के भावना कोरेर कक्षामा बेन्चमा दुईचार सहपाठीहरुसँग गफिँदै थिइन् । हावाको झोँका जस्तो त्यस केटाको आगमन भयो र भन्यो — ‘त्यो कागजको टुक्रा त मेरै निम्ति लेखेको लभ लेटर जस्तो देखिन्छ नि । यदि मेरो निम्ति लेखेको हो भने मलाई नदिनु ल, ऊ त्यो कालेलाई दिनु , हेर न त्यस्का दाँत कति सफा छन् ।’ निकै कालो भएकोले सबैले काले भनी बोलाउने एक सहपाठी, अँध्यारोमा जस्को अनुहारको अस्तित्व केवल दाँतको चहकमा मात्र बाँचिरहेको थियो, उनलाई देखाएर बोल्दा कक्षामा रुसा, रजनी र कृपा सबै सहपाठीहरु गलल्ल हाँसेका थिए । ‘कस्ले भनेको यो लभलेटर तपाईको निम्ति लेखेको ?’ डरले कम्पित स्वरमा यसो भन्दै उनी त्यस केटासँग तर्केकी थिइन् । बिनोद नाम गरेको त्यस केटाको ठट्टा उनको मनमा अमीट छाप बनेर बस्यो । तर पनि प्रिय व्यक्तिले गरेको अपमानलाई त्यस पछिका दिनमा उनले मनोविनोदको रुपमा ग्रहण गर्ने कोसिस गरिन् । मानिसहरुलाई हँसाउन बिनोदको जे भन्ने पनि बानी छ । आफैलाई थाहाँ छैन उस्लाई, उस्ले के बोल्छ । बास्तवमा, बिनोदले पनि मलाई थोरै मन पराउँछ नत्र किन उस्ले आफ्नो नोटबुकमा मेरी काली भनेर लेखेको त ? म एक कालीसिवाय उस्को जीवनमा अर्की काली को छ र ? एक मनले यस्तो भन्दा पनि अर्को मनले विद्रोह गथ्र्यो – हो, मेरो अनुहार असुन्दर छ । त्यस्मा एउटा गहिरो दाग परेको छ । ‘मलाई एकान्तमा थुकेको भए, त्यो थुकलाई गँगाजल सम्झेर लिन्थेँ तर रुसा, रजनी र कृपाको अगाडी हाँसोको विषय किन बनाइनु पथ्र्यो, कक्षामा ? आइन्दा कैले पनि प्रेमपत्र लेख्दिनँ तिमीलाई’ भन्दै बहुलाही जस्ती भएर त्यो प्रेमपत्रलाई अनेकन टुक्रामा विभाज्य गरेर कोठाभरि छरेर हिकहिकाएकी थिइन् ।
नोट : लाखौं पाठकका प्रिय चर्चित युवा लेखक प्रेमकृष्ण श्रेष्ठको धारावाहिक उपन्यास ‘रुपै रुपको कहानी’को सुरुवात गरेका छौँ । श्रेष्ठ नेपाली साहित्यमा चीर परिचित नाम हुँदै हो, देश विदेशमा पनि अंग्रेजी र हिन्दी भाषामा उनको कलम फिँजिएको छ । आजबाट उपन्यासको पहिलो अध्याय भएको छ । हरेक हप्ता एक कुरुप महिलाको जीवन–संघर्षलाई उतारिएको कथाका अध्यायहरु मोटिभेटन्युजमा निरन्तर पढन पाइने छ ।