भ्रष्टाचार गर्ने मन्त्रालयको पहिलो नम्बरमा गृह मन्त्रालय, को को परे अख्तियारको फन्दामा ?

सोमबार, ६ साउन २०७६

काठमाडौं – भष्ट्राचार गर्ने मन्त्रालयको लिस्टमा पहिलो नम्बरमा गृह मन्त्रालय परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार एक वर्षको अवधिमा दुई सय कर्मचारीलाई घूससहित पक्राउ गरेकोमा अधिकाँस गृह मन्त्रालयका कर्मचारी रहेको जनाएको छ ।

यसरी पक्राउ पर्नेमा दुई जना विशिष्ट श्रेणीका कर्मचारी पनि छन् । यस्तै दुई जना सहसचिव, १० जना उपसचिव, ३२ जना शाखा अधिकृत, ४७ जना नायब सुब्बा, २९ जना खरिदार, १५ जना जुनियर कर्मचारी र २४ जना कार्यालय सहयोगीलाई पनि अख्तियारले पक्राउ गरेको छ ।

अख्तियारले सात जना निर्वाचित तथा मनोनित पदाधिकारी पनि घूससहित पक्राउ गरेको छ । घूससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी रहेका छन् ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ ।

इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला, विश्वेश्वरप्रसाद साहलाई नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले १५ लाख रुपियाँ घूससहित शनिबार मात्र पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपियाँ घूस मागेका थिए । घूस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकेदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरूलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।