सत्तारुढ नेकपाले कांग्रेसलाई लगायो गम्भिर आरोप, काँग्रेसमा खैलावैला

सोमबार, ६ साउन २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस दलाल तथा नोकरशाहीको पार्टी भएको आरोप लगाएको छ । मिति २०७६ साउन १ गते प्रकाशनका लागि छापामा पठाएको राजनीतिक प्रतिवेदनमा कांग्रेस दलाल तथा नोकरशाहीको संरक्षक वा रक्षाकवच भएको आरोप लगाएको हो ।

प्रतिवेदनको पेज नं. २६ मा भनिएको छ, नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । साम्राज्यवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाएपनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता पाउन सकेन ।

त्यस्तै राजनीतिक प्रतिवेदनको पेज नं. २७ मा भनिएको छ, नेपालको दलाल तथा नोकरशाही वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले नै गरेको छ । त्यस्तै कांग्रेसको अन्तर्राष्ट्रिय एकाधिकारवादी पुँजीवादसँग सम्बन्ध रहेकाले नेपालको विकासमा मुख्य बाधक भनेकै कांग्रेस हो भनिएको छ ।

नेपाली कांग्रेसको नवउदारवादी अर्थप्रणालीको अवधारणाले उत्पादक शक्तिको विकास हुन नसकेको साथै आर्थिक विकास हुन नसकेको आरोप लगाईएको छ । त्यस्तै कांग्रेसले राष्ट्रियताको बिरुद्धमा गएर विदेशी शक्तिसँग सम्झौता गरेको, विदेशीहरुसँग आत्मसर्मपण गरेको, प्रजातान्त्रिक अभ्यासमा भूमिका खेल्न नसकेको र भ्रष्ट तथा दलालहरुको संरक्षण गरेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।