नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा

शनिबार, २८ चैत्र २०८२

काठमाडौं—आगामी मंगलबारदेखि काठमाडौँमा रात्रिकालीन बस सेवा शुरु हुने भएको छ । नयाँ वर्षको पहिलो दिनदेखि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालनको योजना बनाइएको छ ।

राजधानीको दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल अस्पताल हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बूढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ ।

थानकोटबाट छुट्ने बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरर्राष्ट्रिय विमान स्थल पुग्नेछ । अर्को बस त्रिभुवन विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोट जानेछ ।

नयाँ सडक गेट अगाडि एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस त्रिभुवन विमानस्थल तर्फ छुट्नेछ । राजधानीको चार वटा विन्दुबाट चार वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने बताइएको छ ।