‘रुपै रुपको कहानी’ : अध्याय २

सोमबार, ३० चैत्र २०८२

घरपरिवारमा ज्योत्स्नालाई बिहेका लागि दबाब आउँदै थियो । हुर्किरहेकी छोरीमा यस्तो दबाब आउनु स्वभाविक नै हो । यो समाजमा, नारीको छातीले अलिकता बढी बोझ उचाल्दा छोरी तरुनी भई भनेर विश्लेषण गर्ने परिपाटी छ । यसै परिपाटीको ज्योत्स्ना पनि शीकार भइन् । ज्योत्स्नाको किन बिहे भएन भनेर समाजले उठाएको प्रश्नको प्रत्युत्तरमा आमाले एकदिन भन्नुभयो, छोरी अब तैले बिहे गर्नुपर्छ । तर, ज्योत्स्नाको लागि कहीँ कतैबाट बिहेको प्रस्ताब आएको थिएन । त्यो नराम्रो अनुहार कसले मागोस् ? कसले सजाओस् त्यो कुरुप अनुहारको टाउकोमा बसेको सिउँदोलाई ? यही पीडाले उनका आँसु कति बगे, बगे जस्को गिन्ती छैन ।

एक दिन फुपूले कुनै केटाको प्रस्ताब लिएर आइनुभयो । त्यस केटाको फोटो निकै राम्रो थियो । कुनै चलचित्रमा देखिने नायक भन्दा कम थिएन । फुपूले केटाको फोटो हातैमा थम्याएर बोली– ‘केटा यही हो, भोलि योसित भेटाइदिने हो ।’ त्यो दिन ज्योत्स्नाको खुसीको सीमा रहेन । किनभने, उनको सालिक जस्तो अचल जीवनमा त्यो प्रस्ताबले थोरै हलचल ल्याइदिएको थियो । आखिर यो संसारमा कुन नारी हुन्छे, जस्ले विवाहरुपी सम्झौतामा बरमाला र बधुमालाको साटासाट नचाहोस् । सपनामा पनि त्यही फोटोको केटा आएर प्रश्न गर्यो– ‘ज्योत्स्ना मसित बिहे गर्छेस् ?’ उनको जीवनको यो पहिलो अनुभव थियो, कुनै केटाको तस्बीरले छोइनुको । उनलाई लाग्यो, त्यस केटासँग उनको पूर्वजीवनको केही सम्बन्ध छ, होइन भने उसको तस्वीर छातीमा फुलाउँदा गुलाफको थुँगा राखेतुल्य हलुका भयो ।

त्यस केटालाई लिएर उनको शरीरको कण–कणमा रोमाञ्चकता पैदा भयो । रुषाले भनेको एउटा वाक्य उनको कर्णपर्दामा ठोकिन आयो, “विहे पछिको लाइफ नै अर्को हुन्छ । रातभरि श्रीमानको अँगालोमा टाँसेर सुत्न पाइन्छ । यस्तो लाग्छ भोलि भन्ने चिजै नहोस्, त्यही एक रातमा जीवन टुँगियोस् ।” बिहान कैले हुन्छ भनेर तकियामुनि लुकाएर राखेको त्यस फोटोको मालिकलाई दर्शन गर्ने उत्कट चाहनाले भितामा झुन्डयाएको भित्तेघडीको बृत्तमा पचास पटक हेरिन् । कैयनपल्ट कोल्टो फेरिन् । पचतर पटकको कोल्टोपछि रातमा एकक्षण भुसुक्क निदाइछन् । उठेर आङ्ग तान्दा बाहिर झलमल्ल परिसकेको घामले कोठा पनि ढपक्क बाल्यो ।

यति लामो उनको जीवनमा यति सुखद बिहानी कैले उदाएको थिएन । भित्तामा झुन्डिएको ऐनामा आफ्नो बाटुलो रुप बिसाइन् । उनको मन निरास बन्यो । गालाको दागमा उनको नजर ठोकियो । तर पनि उनले त्यस दिन त्यस गालाको दागलाई वास्ता गरिनन् । हरियो कुर्तामा सजिएकी ज्योत्स्नाको छेउ बहिनी आएर बोली, ‘म पनि आउँछु, मेरो हुनेवाला भिनाजुको दर्शन गर्न । देखाइदिउँ न मेरो बिउटी हुनेवाला भिनाजूलाई ।’

ज्योत्स्नाले जिस्केर बोलिन्, ‘तँलाई किन चाहियो भिनाजु हेर्न । मेरो हुनेवाला श्रीमान हो, म मात्र हेर्छु । जान्छेस् भने तै पनि तयार बन न । तर, भिनाजुलाई ईश्र्यालु नजरले हेर्न पाउने छैनस् नि । प्रमिस गर ।’

परिभाषाले प्रत्युतरमा बोली, ‘प्रमिस’

दुबै दिदी बहिनी हरियो कुर्तामा सजिएर फूपूहरुले भेट्न व्यवस्था मिलाएको ठाउँ, गोदावरीतिर प्रस्थान गरे । त्यस केटालाई देख्नेबितिकै कता कता लाजको लाली उनका गालाभरि पोखिए । एकान्तमा उनीहरुको भेट भयो । वातावरण पनि संवादका लागि सहज बनाइयो । त्यस केटाले मायालु भाषामा सोध्यो, ‘तिम्रो नाम के हो ?’

ज्योत्स्नाले डराई जवाफ दिइन्– ‘ज्योत्स्ना ।’

‘तिमी के गछ्र्यौ ?’ केटाले ज्योत्स्नाको आँखामा आँखा घोप्टाएर प्रश्न गर्यो ।

‘म शिक्षिका हुँ ।’ ज्योत्स्नाले निर्भिक उत्तर दिइन् ।

‘बिहे भनेको जीवनमा एकपटक मात्र गरिन्छ । निर्णयको सानो गल्तीले पनि जीवनभरि पछुताउनु पर्ने हुन्छ । तपाईलाई म त्यति पर्खाउदिनँ । तपाईले अवश्य मेरो जवाफ पाउनु हुन्छ ।’

ज्योत्स्नाले स्वीकृतिको टाउको हल्लाइन् ।

केटाले अलि पर उभिरहेकी परिभाषातिर पुलुक्क हेर्यो र फटाफट आफ्नो आमासँग हिँड्यो ।

केटाले यसरी मनको तलाउमा हलचल मचाएर गएको केही दिनसम्म केही प्रतिक्रिया आएन । जीवनमा त्यो भन्दा सताइँदो प्रेमको बिसञ्चो उनलाई कैले भएको थिएन । घरमा पनि त्यो विषयले टाउको पनि उठाएको थिएन । अति बेचैनी भएपछि ज्योत्स्नाले नै साहस बटुलेर आमालाइ प्रश्न गरिन्– “आमा, त्यो केटाले के जवाफ दियो ?” उनको ओठबाट रविन भन्ने शब्द छुट्न खोजेको हो, तै बलैले समातेर त्यो शब्दको ठाउँमा ‘त्यस केटा’ प्रतिस्थापन गर्न पुगिन् । आमाले शुरुमा बोल्न चाहनु भएन । ज्योत्स्नाको निकै करकापमा बाध्य भएर बोल्नु भयो – ‘त्यस केटाले तिमीसँग होइन, परिभाषासँग भए मात्र बिहे गर्ने रे । दिदी भन्दा बहिनी राम्री छे भनेको छ ।’

आमाका कुराले उनका आँखा भित्रदेखि नै रसिएर आयो । उनलाई त्यस केटाको तीतो प्रतिक्रियाले निकै चोट लाग्यो । उनले मनमनै भनिन् – ‘हो म कुरुप छु । यसको अर्थ यो होइन कि मेरो सिउँदो सिन्दुरले रंगिन नै योग्य छैन । तैले दुई नारीको फरक रुपलाई कम र बढी सुन्दरताले केलाएर नारीको मालिक हुन खोजिस्, त्यसभित्र तेरो पुरुषत्वको अहमंसिवाय अरु केही छैन ।’

उनले मन मनै अठोट गरिन्, त्यस केटाको यो तीतो उपहारको बदलामा मीठो उपहार दिएर कुनै दिन यो ऋणको भुक्तानी गरिदिन्छु ।

त्यसदिन पछि हरेक सास–सासमा रविन बनेको, त्यस केटा नाम बनाइ तीनचार दिन सास घृणाले फेर्न थालिन् र केही दिनपछि सास हलुको बन्यो ।

त्यसदिन पछि उनको मनमा पुरुषप्रति एकप्रकारको घृणा जाग्यो– हरेक बिहेको स्वीकृति र अस्वीकृतिको निर्णयको मालिक पुरुष नै हुन्छ । के नारीलाई पनि पुरुषलाई अस्वीकार गर्ने अधिकार छैन ? यो अधिकारबाट किन बञ्चित छे नारी ? त्यस पुरुषको सारै चोटिएको निर्णयले बिक्षिप्त बनेकी ज्योत्स्नाले एकदिन आमासँग बिद्रोह पोखिन्– ‘आमा अब म कैले बिहे गर्दिन ।’

आमाले घृणाको नजरले हेरेर बोल्नु भयो, ‘बिहे नगरी के बूधिकन्या भएर बस्छेस् त ?’

उनले बोलिन्, ‘बिहेका लागि यसरी अस्वीकार हुनु भन्दा यसरी बिहे नै नगर्नु ठीक हो । कमसेकम मन त दुख्दैन ।’

आमा चुप लाग्यो । त्यो केटापछि उनको जीवनमा करकापमा कैयन केटा जोडिन आयो । सबै पुरुष, पहिलो पुरुषको छाँया नै बनेर निस्किए । यसरी पटक पटक पुरुष दुखे पछि, उनलाई लाग्यो नारी भनेको नै यहाँ पुरुषको घाउ थाप्न आएकी निरीह प्राणी हुन् । उनले मनमनै भनिन्, ‘यो समाजको परम्परा नै गलत छ । बिहेप्रतिको मूल्य मान्यता पनि गलत हुन् । अठाइस वर्षमै समाजले दिएको बूधिकन्याको घाउ बोकेर संघर्ष गर्ने चेष्टा गरिन् । जताततै समाजमा गुँजिरहेको यो मंसिरमा पनि ज्योत्स्नाको बिहे हुँदैन भन्ने भनाइलाई आत्मसात गरी क्यालेण्डरबाट मंसिर महिनाको पाना नै च्यातेर, मुठीमा निमोठी आगामा जलाइदिइन् । त्यस पछि लामो सुस्केरा फेरेर बोलिन्, ‘अब मंसिरले मलाई दुख्दैन ।’

उपन्यास : रुपै रुपको कहानी