२९ वैशाखभित्रै एसईईको नतिजा, १० जिल्लाको उत्तरपुस्तिका परीक्षण सकियो
राष्ट्रिय परीक्षा बोर्डले २९ वैशाखभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने गरी काम अघि बढाएको छ ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएका जिल्लाहरूबाट प्राप्ताङ्क उतार गरिएका मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको र त्यसलाई सार्वजनिक बिदाको दिनमासमेत इन्ट्री गर्ने काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म १० जिल्लाको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अन्य जिल्लाबाट पनि मार्कस्लिप र उत्तरपुस्तिका आउनेक्रम जारी छ । उनले भने, ‘मार्कस्लिप आएका ठाउँको सार्वजनिक बिदाको दिनमासमेत इन्ट्री गर्ने काम भइरहेको छ, मन्त्रालयको निर्देशन अनुसार २९ वैशाखभित्रै एसईईको नजिता सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’
अहिलेसम्म सकिएको काम र गरिएको तयारीले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न सम्भव देखिएको पनि उनले बताए । अघिल्ला वर्षहरूमा झण्डै तीन महिना लगाएर प्रकाशन हुने एसईईको नजिता यस वर्ष एक महिनाभित्रै सार्वजनिक गर्ने गरी उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको छ ।
५ वैशाखभित्र सबै जिल्लाबाट सबै विषयका मार्कस्लिप र उत्तरपुस्तिकाका साथै परीक्षा सम्बन्धी कागजात परीक्षा नियन्त्रण कार्यालय ल्याइसक्न निर्देशन दिइएको छ । एक महिनाभित्रै एसईईको नतिजा प्रकाशनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ जारी गरेको छ ।
यो निर्देशिकाले प्रदेशगत रूपमासमेत एसईईको नतिजा सार्वजनिक गर्न सक्ने व्यवस्था गरेको छ । तर, निर्देशिकाले व्यवस्था गरे पनि प्रदेशगत रूपमा भने नतिजा सार्वजनिक गर्ने तयारी यस वर्ष नभएको परीक्षा नियन्त्रक अधिकारीले बताए । एसईई परीक्षा १९ देखि २९ चैतसम्म सञ्चालन भएको थियो ।