नेपाली कांग्रेसको अबको गोरेटो : एकता, स्पष्टता र पुनर्जागरण

आइतबार, ६ बैशाख २०८३

काठमाडौं – नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले एक निर्णायक मोडमा उभिएको छ। पछिल्लो समय विकसित घटनाक्रम—विशेषतः सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिकता दिएको फैसला—ले लामो समयदेखि चलिरहेको आन्तरिक विवादलाई कानुनी रूपमा टुंग्याएको छ। शेर बहादुर पक्षको रिट खारेज भएसँगै नेतृत्वको औपचारिक टुंगो लागेको देखिए पनि, राजनीतिक र संगठनात्मक रूपमा कांग्रेसको वास्तविक परीक्षा भने अब सुरु भएको छ।

यस परिस्थितिमा कांग्रेसले अब कुनै ढिलाइ नगरी तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य छ। तर महाधिवेशन केवल औपचारिक प्रक्रिया नभई समावेशी हुनुपर्छ, जसमा सबै पक्षलाई कुनै रिस–राग वा पूर्वाग्रह बिना समेटिने वातावरण निर्माण होस्। यदि गुटबन्दीलाई व्यवस्थापन गर्न सकिएन भने, कानुनी वैधानिकता मात्रले पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्दैन। त्यसैले आन्तरिक एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्नैपर्छ।

यससँगै कांग्रेसले आफ्नो वैचारिक स्पष्टता पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ। विशेषतः संविधान संशोधन र शासकीय स्वरूपबारे स्पष्ट धारणा बनाउनु आजको प्रमुख आवश्यकता हो। संसदीय प्रणालीलाई अझ सुदृढ बनाउने कि वैकल्पिक स्वरूपतर्फ जाने भन्ने विषयमा पार्टीले आफ्नो स्पष्ट दृष्टिकोण राख्नुपर्छ। यस्तो धारणा बनाउँदा बि ।पी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको मूल भावना कायम राख्नु अत्यन्त आवश्यक छ। यही वैचारिक आधारले कांग्रेसलाई पुनः जनतासँग जोड्ने बलियो माध्यम बन्न सक्छ।

वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिका पनि सन्तुलित र जिम्मेवार हुनुपर्छ। बालेन शाह नेतृत्वको सरकारप्रति कांग्रेसले गुण र दोषका आधारमा सहयोग गर्ने नीति अपनाउनु आवश्यक छ। अन्ध समर्थन वा अन्ध विरोध दुवै लोकतान्त्रिक संस्कारका दृष्टिले उपयुक्त होइनन्। साथै, संसदमा संख्या कम भए पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ, जसले सरकारलाई उत्तरदायी बनाउने र जनहितका मुद्दामा खबरदारी गर्ने काम गर्छ।

यसै सन्दर्भमा कांग्रेसले आफ्ना पुराना राजनीतिक सहयात्रीहरू, जस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी सँग संवाद र विश्वासको वातावरण निर्माण गर्दै राष्ट्रियता र राष्ट्रिय महत्वका विषयहरू—विशेषतः राष्ट्रपति संस्था, शासन प्रणालीको स्थायित्व र देश विकासका सवालमा—सरकारलाई सचेत गराउने र आवश्यक सहकार्य गर्ने दुवै भूमिका सम्हाल्नुपर्छ।

कांग्रेसको पुनर्जीवनका लागि अर्को अत्यन्त महत्वपूर्ण पक्ष भनेको नेतृत्वको सन्तुलित संयोजन हो। कुनै पूर्वाग्रह बिना पाका नेताहरूको अनुभव, समर्पण र परिपक्वतालाई सम्मान गर्दै नयाँ पुस्ताका युवाहरूको जोश, ऊर्जा र परिवर्तनप्रतिको आकांक्षालाई समेट्ने समिश्रण आवश्यक छ। यही अन्तरपुस्तीय सहकार्यले पार्टीमा नयाँ ऊर्जा सिर्जना गर्न सक्छ र संगठनलाई गतिशील बनाउँछ।

यसका साथै कांग्रेसले सुशासन र भ्रष्टाचारविरुद्ध कडा प्रतिबद्धता देखाउनुपर्छ। केवल नारामा सीमित नभई व्यवहारमा पारदर्शिता र उत्तरदायित्व देखाउन सके मात्र जनविश्वास पुनः स्थापित हुन सक्छ। आर्थिक रूपान्तरण र रोजगारी सिर्जना पनि कांग्रेसको प्राथमिक एजेन्डा बन्नुपर्छ। युवाहरूको वैदेशिक पलायन रोक्न, उद्यमशीलता प्रवर्द्धन गर्न र उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न ठोस नीति आवश्यक छ।

अन्ततः, कांग्रेसले युवासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। युवा वर्गलाई केवल समर्थकको रूपमा नभई नीति निर्माणको साझेदार बनाउँदा मात्र पार्टीको दीर्घकालीन भविष्य सुनिश्चित हुन्छ।

यसरी हेर्दा कांग्रेसको अबको बाटो बहुआयामिक छ, जसमा समयमै समावेशी महाधिवेशन, स्पष्ट वैचारिक दिशा, संविधान संशोधनमा ठोस धारणा, सन्तुलित राजनीतिक भूमिका, अन्तरपुस्तीय सहकार्य र सुशासनप्रतिको प्रतिबद्धता सबै एकअर्कासँग जोडिएका छन्। यदि यी पक्षहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सकियो भने मात्र कांग्रेस पुनः एक सशक्त, विश्वसनीय र जनमुखी राष्ट्रिय शक्ति बन्न सक्छः अन्यथा, आन्तरिक द्वन्द्वकै चक्रमा अल्झिने जोखिम कायमै रहनेछ।