नेपाली लायनका ‘ऊर्जाशील नक्षत्र’ राजनद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा

सोमबार, ७ बैशाख २०८३

काठमाडौं – नेपाली लायनका ऊर्जाशील र सक्षम युवा नेतृत्वको पहिचान बनाउनु भएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वैशाख १२ गते शनिबार हुने निर्वाचनका लागि श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट रहेका श्रेष्ठसँग ‘सामुदायिक सेवाका नेतृत्वकर्ता’ को रूपमा आफ्नो प्रभावकारी कदम अगाडि बढाएको अनुभव छ । लायनवादको सुदृढीकरणका लागि श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर र चिफ एरिया कोअर्डिनेटर जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिसकेका छन् । उनले लायन्स इन्टरनेशनलबाट DLLI, RLLI, ALLI देखि FDI सम्मका उच्चस्तरीय तालिमहरू प्राप्त गरी लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको प्राज्ञिक अध्ययनसमेत पुरा गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा GAT मेडल, प्रेसिडेन्सियल मेडल र प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित श्रेष्ठले टीयू लायन्स रक्तसञ्चार बैंकको संस्थापक सदस्य भई मानवीय सेवामा विशिष्ट योगदान पुर्याएका छन् । श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता र प्रविधिमैत्री प्रणालीलाई आत्मसात गर्न र लायन एकतामा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने उनको यो उम्मेदवारी नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन कोसेढुङ्गा सावित हुने लायनवृत्तमा चर्चा चलेको छ । उनको अनुभवी र समाधानमुखी नेतृत्वले आगामी वर्षमा संगठनलाई थप उचाइमा पुर्याउने अपेक्षासमेत गरिएको छ ।