खुश्बु ओलीले मागिन् गृहमन्त्रीको राजीनामा

सोमबार, ७ बैशाख २०८३

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी रास्वपाकी सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छिन् ।

गृहमन्त्री गुरुङले विभिन्न कम्पनीको शेयर खरिदमा गरेको लगानी विवादमा तानिएपछि ओलीले उनको राजीनामा माग गरेकी हुन्।“आधिकारिक राज्य संयन्त्र पनि आफैँ हाँक्ने र अनुसन्धान पनि आफैँ गर्ने भन्ने हुन सक्दैन। अनुसन्धान गर्नका लागि गृहमन्त्रीज्यूले मार्ग प्रशस्त गर्नुपर्दछ,” ओलीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

गृहमन्त्रीका विभिन्न क्रियाकलापहरू सम्बन्धी उठेका प्रश्नहरूलाई उनले आफ्नो सामाजिक संजालमार्फत दिएको स्पष्टीकरणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको ओलीले जनाएकी छन् ।

गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरूको स्पष्टीकरण उनको सामाजिक सञ्जाल, फेसबुकमार्फत दिनु भनेको विधिसम्मत प्रक्रियालाई हल्का बनाउनु र संस्थागत विश्वसनीयतामा आघात पुर्‍याउनु रहेको ओलीले उल्लेख गरेकी छन् । “यदि यस्तो अभ्यास स्वीकार्य बनाइयो भने, भोलि प्रत्येक सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका वा अन्य फौजदारी अभियोगमा परेका व्यक्तिले पनि सामाजिक सञ्जालमै लेखेर आफू निर्दोष भएको दाबी गर्दा भयो,” राप्रपा नेतृ ओलीले भनेकी छन् ।

राष्ट्रको गृहमन्त्री जस्तो पदमा आसिन व्यक्तिले यस किसिमको स्पष्टीकरण सामाजिक संजालमा दिएर हल्का बनाउन नहुने तर्क ओलीको छ ।

गृहमन्त्रीले गुरुङले सोमबार पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

यता, ओलीले गृहमन्त्री पार्टीको निर्णयमा नभएर मुलुकको राज्य संयन्त्रको नीति र विधिअनुसार चल्नुपर्ने बताएकी छिन् ।