भाइरल भिडियोका अदृश्य लेखक हुन् प्रेमकृष्ण श्रेष्ठ
मीठो मीठो मीठो बोल्दै टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा लोकप्रिय हुँदै चिनिएका अहिलेका चर्चित समाजसेवी फुड ब्लगर अभिनव बज्रका भिडियोहरु दर्शकले निकै रुचाउने गरेका छन् । उनको भिडियोको भ्युज दश लाख पुग्नु सामान्य भैसकेको छ ।
उनको भिडियो हेरेर नरुने मानिस कमै होलान् । शिष्ट बोली, दिनदुखीलाई सहयोग र सबैलाई गर्ने उनको समान व्यवहार प्रशंनीय छ । असक्त हातमा बाल्टिन झुन्याउँदै विभिन्न ठाउँमा कुकुरलाई खाना खुवाउँदै गुमनाम हिँडने रश्मी दिदी अभिनवको भिडियो पछि एकाएक देशविदेशमा नै भाइरल भइन् ।
उनको भिडियो भाइरलसँगै क्याप्सन र कमेन्टको पनि निकै चर्चा भयो । कैयन पपुलर पेजहरुले अचेल अभिनवको क्याप्सन र कमेँँन्टलाई उदधृत गर्दै भिडियोको बारेमा लेख्ने र बोल्ने गरेका छन् । अहिले भाइरल भएर सर्वत्र सेयर भएका अभिनवका केही केप्सन र कमेँन्ट – “कुन देश कति महान छ, त्यहाँको जनताले कुकुरलाई गर्ने व्यवहारबाट थाहा हुन्छ ।”
“कतैको यात्रा कतै मोडिँदा, भेटिनुभएकी रश्मी दिदी, आज मेरो लागि आमा हुनुभयो । हराएका सबै यात्रा गलत ठाउँमा पुग्दैन ।”
“अरुको भोक मेटाउँदै जाँदा आफू भोकै रहेको यादै भएन । सम्झेपछि खाएँ, आनन्द अर्कै पाएँ ।”
“श्रीमान समुद्र पारी, काखमा दुई सन्तान, काँधमा एक पहाड जिम्मेवारी, नारीहरुले यस्तो साहस कहाँबाट ल्याउँछन् होला ?”
“रंग कलसँग मित्रता साटौं ।”
“धनीको लागि एक हजारको मूल्य नहोला, तर गरिबको लागि आधा बोरा चामल हो । एक महिनाको भोक मेट्ने साधन हो ।”
“धन भएर मात्र हुँदैन, मन हुनुपर्छ । मन भयो भने मनलाई सजिलै जित्न सकिन्छ ।”
“जो कुनै प्राणीको दुःख सहन सक्दिनन्, उनको जीवनमै कति दुःख रहेछ ।”
“गहिरिएर हेर्नुस त नारीको आँखामा, त्यहाँ आफ्नै आमाको झल्को आउँछ ।”
“भगवानको उपस्थिति सबैतिर हुँदैन, जहाँ अनुपस्थित हुन्छ, त्यहाँ आमा पठाउनु हुन्छ । यिनै आमाका कारण यी कुकुरहरु टुहुरा भएनन् ।”
“पशुपन्छीको भोक सहन नसक्ने यी महान दिदीलाई विश्वभरिको प्राणिको आशिष लागोस् ।”
“आमा हुन पाठेघरमा संतानको भारी बोक्नै पर्ने छ र ? कुनै असहायलाई छातीमा बोकेर पनि आमा हुन सकिन्छ ।”
“सँधै जीवन छ यात्रामा, न ओराली भन्नु न उकाली
कहिले बन्ला, यी भरिया बाको भारी बिसाउने चौतारी”
“दिदी अव यात्रामा एक्लै हुनुहुन्न, दुईजना निस्वार्थी सहयात्री थपिएर, ब्यक्तिबाट समाज निर्माणमा यो सेवाको यात्रा आजबाट अग्रसर भो ।”
“कुनै कुनै यात्रा हाँसेर छुटे पनि आँसुले भारी हुन्छ । बाँकी यात्राभरि गुँजिरहयो –५०० ले कापी कलम किन्छु ।”
“भिरमा फुल्ने लालीगुराँस टिपेर भिरमा नै बेचिरहेकी यी लालीगुराँस जस्तै सानी नानीले जानेबेला अन्त्यमा भनिन् –“म कापीकलम किन्छु ।” मेरो आँखा नै टलपल भो । कहिलेसम्म साटनु पर्ने भिरका बालबालिकाले लालीगुराँससँग कापीकलमहरु ?”
यी शक्तिशाली लाइनहरु सजिए पछि अभिनवका भ्लगहरु झन शक्तिशाली हुँदै गएका छन् । यी केप्सन, कमेन्टहरु लेखेका हुन, नेपाली, नेवारी, अंग्रेजी, हिन्दी र उर्दु भाषामा समानान्तर कलम चलाउने, देशमा मात्र होइन विदेशमा पनि सृजना प्रकाशित गर्नुहुने बरिष्ठ लेखक प्रेमकृष्ण श्रेष्ठले । श्रेष्ठ पनि भाइरल लेखकको रुपमा चिनिन्छ ।
श्रेष्ठले ५ हजार भन्दा बढी सृजना प्रकाशित गरेर एकसे एक भाइरल लेखहरु लेखिसकेका छन् । हरेक कालजयी सृजनाभित्र कालजयी लेखक हुन्छ । अभिनव बज्र र उनको भावनात्मक भिडियोको मात्र होइन, मुटु छुने गरी केप्सन लेख्ने लेखकको पनि अहिले शहरमा चर्चा छ ।