कास्की प्रहरीको ‘स्वीप अपरेसन’बाट एकैरात १२२ जना पक्राउ

बिहिबार, १० बैशाख २०८३

काठमाडौँ – कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म १० घन्टा चलाएको स्वीप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ।

स्वीप अपरेसनमा टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध अभियान केन्द्रित रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।

लेकसाइड क्षेत्रका पर्यटकलाई दुस्ख दिएको भन्दै २० जना महिलालाई पनि पक्राउ गरिएको र नागरिक समाजले निर्दोष समातिन सक्ने भन्दै प्रहरीलाई सचेत रहन आग्रह गरेको छ।

१० वैशाख, पोखरा । पोखराका विभिन्न स्थानमा बुधबार राति एकाएक प्रहरीको सक्रियता बढ्यो । काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम तीव्र देखियो । यो गतिविधि बिहीबार बिहानसम्म करिब १० घन्टा जारी रह्यो, जसले स्थानीयलाई सुरुमा अचम्मित बनायो ।

पछि खुल्यो– यो त जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ थियो । टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार र प्रयोग तथा समाजमा अवान्छित गतिविधि गर्ने र आतंक सिर्जना गर्नेहरुलाई नियन्त्रणमा लिन प्रहरीले बुधबार रातिदेखि बिहान बिहानसम्मै विशेष अभियान चलाएको थियो । यसक्रममा एकैरात १ सय २२ जना पक्राउ परेका छन् ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरी अपरेसन चलाइएको थियो । ‘टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध यो अभियान केन्द्रित थियो,’ एसपी कार्कीले भने, ‘यसक्रममा १ सय २२ जना समातिएका छन् । केहीलाई सोधपुछपछि छोडिएको छ ।’