बर्डफ्लूले कोशी प्रदेशमा तीन लाखभन्दा बढी घरपालुवा पंक्षी मरे

शनिबार, १२ बैशाख २०८३

काठमाडौं—कोशी प्रदेशका तीनवटा जिल्लामा गत चैतदेखि फैलिएको बड्फ्लुका कारण तीन लाख भन्दाबढी हाँस, कुखुरालगायतका घरपालुवा पंक्षी नष्ट भएको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका विभिन्न पोल्टी फर्ममा बड्फ्लु संक्रमण हुँदा ३ लाख बढी घरपालुवा पंक्षी मरेर नष्ट भएको हो ।

तीन वटा जिल्लामा हालसम्म ३६ वटा फर्ममा बर्डफ्लू संक्रमण पुष्टी भएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रारम्भिक विवरण अनुसार बर्डफ्लू संक्रमणका कारण ३ लाख बढी घरपालुवा पंक्षी मरेको निर्देशनालयका सूचना अधिकारी विनोद कुमार साहले जानकारी दिए । साहका अनुसार पंक्षीसँगै दाना, चल्ला, अण्डा पनि ठूलो संख्यामा नष्ट भएको छ । जसका कारण किसानले करोडौं रुपैयाँको नोक्सानी वेहोर्नु परेको छ ।

किसानलाई भएको नोक्सानीको बिबरण संकलनको काम जारी रहेको साहले बताए । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी मत्यविकास अधिकृत शितल भट्टराईका अनुसार झापाका ४ वटा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका विभिन्न फोल्टीफर्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । बर्डफ्लू संक्रमणका कारण २० हजार भन्दा बढी कुखुरा नष्ट भएका छन् । यस्तै दाना, चल्ला, अण्डा लगायत ठूलो मात्रामा नष्ट हुँदा किसानलाई धेरै नौक्सान भएको छ । किसानलाई भएको क्षतिको मूल्यांकन हुन बाँकी रहेको भट्टराईले जानकारी दिइन् ।

भेटरिनरी अस्पताल तथा पशुपंक्षी विज्ञ केन्द्र मोरङका अनुसार मोरङमा हाल सम्म ९ वटा फर्ममा संक्रमण पुष्टि भएको छ । सुन्दरहरैंचा, उर्लावारी, रंगेली, कटहरी, विराटनगर, ग्रामथानलगायतका स्थानिय तहहरूका विभिन्न स्थानका पोल्टी फर्महरूमा बर्डफ्लू संक्रमण हुँदा १ लाख बढी कुखुरा नष्ट भएका छन् । यस्तै सुनसरीमा सबै भन्दा बढी २१ वटा फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । सुनसरीका केही फर्ममा कुखुरा नष्ट गर्ने काम जारी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी धिरेन्द्र प्रताप ठाकुरले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएका २० वटा फर्मका १ लाख १४ हजार भन्दा बढी घरपालुवा पंक्षी नष्ट भएको छ । जसमा वोइलर, लेयर्स, टर्की, गिरिराज,हाँस लगायत रहेका छन् । एउटा फर्मको नष्ट गर्ने काम जारी रहेकाले बिबरण आउन बाँकी रहेको ठाकुरले बताए ।

सुनसरीको इटहरी उपमहानगर पालिका क्षेत्रमा सबै भन्दा धेरै नोक्सान भएको छ । इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका १६ वटा फर्ममा संक्रमण देखिएको छ । यस्तै इनरुवा नगरपालिका, दुहवी नगरपालिका, गढी गाउँपालिका लगायतका पालिकाहरूमा पनि बर्डफ्लू संक्रमण फैलिएको ठाकुरले जानकारी दिए । यस्तै झपा, मोरङ र सुनसरीका विभिन्न फर्मको नमुना परिक्षणका क्रममा नरम खालको एन ५ भाइरस पनि पुष्टि भएको छ । जुन भाइरसको संक्रमणका कारण पनि ठूलो संख्यामा घरपालुवा पंक्षी मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरूले जनाएका छन् ।