शिक्षामन्त्रीले बुझे त्रिकेट समर्थकको मर्म

सोमबार, १४ बैशाख २०८३

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले त्रिकेट समर्थकको मर्म बुझेका छन् । त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान भत्किने हल्लाकाबिच शिक्षामन्त्री पोखरेलले त्रिविका पदाधिकारीसँग छलफल गरेको बताउँदै मैदान भत्काउने कुनै योजना नभएको स्पष्ट पारेका हुन् ।

राज्यको यति ठूलो लगानी भएको संरचना नभत्किने विश्वास दिलाउँदै उनले नेपाल क्रिकेट संघ क्यानसँग भएको पुरानो लिज सम्झौता नविकरण गरिने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले टीयू खेलमैदानबारे उठेका जिज्ञासाको जवाफ दिएका हुन् ।

मन्त्री पोखरेलले सोमबार बिहान मात्रै टीयू पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै मैदान भत्काउने कुनै योजना नभएको स्पष्ट पारे । ‘पहिलेको लिज सम्झौता सकिएको छ, अब नयाँ ढाँचामा भाडा सम्झौता हुन्छ,’उनले भने, ‘राज्यको यति ठूलो लगानी भएको संरचना भत्किँदैन । सकिएको लिजलाई नयाँ सम्झौतामार्फत निरन्तरता दिइन्छ ।’