सुकुम्बासी बस्तीबाट विस्थावित विद्यार्थीलाई विशेष सुविधा दिने घोषणा

सोमबार, १४ बैशाख २०८३

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थावित विद्यार्थीलाई विशेष सुविधा दिने घोषणा गरेका छन् ।

मन्त्री पोखरेलले बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गर्दै विद्यार्थीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा स्थानीय तहलाई अनुरोध गरेका हुन् ।

कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीको समेत ख्याल गर्न अनुरोध गरेका छन् ।

मन्त्रीको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो ।

केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरणका लागि सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । विशेष गरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ ।