‘बाँसको झुपडी’ बोलको गीतले धुरुक्कै रुवायो (भिडियोसहित)

मंगलबार, १५ बैशाख २०८३

काठमाडौं – एबि ड्रिम्सले तयार पारेको ‘बाँसको झुपडी’ बोलको गीत सार्वजनिक भएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा प्रस्तुत गरिएको छ ।

बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा रहेको गीतले धेरै दर्शक श्रोतालाई धुरुक्कै रुवाएको छ । रातको प्रहरमा भुटान त्याग्दै गर्दा बुढाबुढीले फर्केर आफ्नो छाप्रोमा हेर्नु, गाइबस्तुहरु भोकाएर बाँ गर्नु, कुकुरले आँखाभरि आँसु पारेर उनीहरुलाई बिदा गर्दाको मार्मिक दुष्यले धेरैलाई भाबुक बनाएको छ ।

बिशाल गुरुङ्गको निर्देशकीय कौशलताले भिडियोलाई झनै मार्मिक बनाएको छ । रातको समयमा पनि साविक समयभन्दा अगाडि नै गाइवस्तुहरु जागेर उनीहरुको जानै लागेको चाल पाउनु जस्ता मार्मिक दुष्यले दर्शकलाई धुरुक्कै रुवाउँछ । पशुहरुमा कुनै पनि घटनाको हुने पूर्व सूक्ष्म ज्ञानलाई गीतको म्युजिक भिडियोमा देखाएको छ ।

गीतमा रचना र संगीत प्रताप सुब्बाको रहेको छ भने बरिष्ठ कलाकार सुरविर पण्डित र कविता आलेको अभिनय रहेको छ । गीतको सुरुवात मार्मिक संवादबाट सुरु हुन्छ, जुन संवाद बरिष्ठ साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेका हुन् । ज्ञानु सुब्बाको कथा र पटकथा रहेको म्युजिक भिडियोको एरेन्जर फणिन्द्र राई हुन् । अहिले बजारमा यो गीतको निकै चर्चा छ ।