देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प

आइतबार, १७ भाद्र २०७५

भदौ १७ काठमाडौं – नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । संघले  गएको १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको हो ।

संघले आज दुई घण्टा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन पनि गर्दैछ । बिहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सरकारले मागबारे चासो नदिए आगामी शुक्रबारदेखि आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द हुनेछ ।

संघले भोलि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, पर्सी आकस्मिकबाहेकका विरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने,े बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा  शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।