बुद्ध जयन्तीकै दिन गुम्बामा चल्यो बालेनको डोजर

शुक्रबार, १८ बैशाख २०८३

काठमाडौं – देशभर २५६८ औं बुद्ध जयन्ती मनाइँदै गर्दा काठमाडौंको बल्खुस्थित सांगे छोइलिङ गुम्बामा भने सरकारले डोजर चलाएको छ । सुकुमवासी बस्ती हटाउने क्रममा शुक्रबार बिहानै सो गुम्बा भत्काइएको हो ।

२०७८ कात्तिक १३ गते दर्ता भएको यो गुम्बा सुकुमवासी बस्तीको बीचमा थियो । स्थानीय तामाङ समुदायका सुकुम्बासीले ‘आज बुद्ध जयन्ती हो, नभत्काइदिनू’ भनेर आग्रह गर्दैगर्दा डोजर चलेको हो।

बालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै सरकारले बागमती र त्यसका सहायक नदी किनारका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियान थालेको हो । सोही अभियानअन्तर्गत वैशाख १८ गते शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ।

सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस कार्यलाई अघि बढाएको हो । यस अभियानमा शुक्रबार कुल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ । जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ ।

बर्षायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको हो ।

​यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय ९अपस्ट्रिम० क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वास्तविक सुकुम्बासीको सुरक्षित आवास, स्वास्थ्य र पोषणको उचित प्रबन्ध मिलाउन स्पष्ट निर्देशन दिइसकेको छ ।

​देशभरका सार्वजनिक जग्गा खाली गर्ने विषयमा सिर्जित त्रासका सम्बन्धमा गृह मन्त्रालयले समेत स्पष्ट पारेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै स्थानीय तहले सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पारेपछि तथा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराएपछि मात्र अतिक्रमण हटाउने कार्य अघि बढाउन निर्देशन दिएको छ ।

स्थानीय तहको माग र उनीहरूको ठोस योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने हुँदा विना तयारी र विना सूचना कुनै पनि कार्य नहुनेमा मन्त्रालयले आश्वस्त पारेको छ ।

सूचनापछि धेरै स्थानीयले आफैं घरटहरा खाली गर्न थालेका थिए । यसबीच प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर चलाएको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी बाक्लो रूपमा खटिएका छन् ।