नेपालको भौगोलिक अखण्डताविरुद्ध भारतको कदम, चीनले स्वागत गर्दै भन्यो– हामी हर्षित छौँ
काठमाडौं — भारतले नेपालको भूमि प्रयोग गर्नेगरी खोलेको कैलाश मानसरोवरको यात्राको चीनले स्वागत गरेको छ । भारत र चीनले लिपुलेक, लिम्पियाधुरा र कालापानी प्रयोग गर्ने सम्बन्धमा गरेको सहमतिप्रति नेपालले पटक पटक आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको छ ।
गत भदौमा चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको र नेपालको सहमतिबिना छिमेकी मुलुकबीच भएको उक्त भूमि प्रयोग गर्ने सहमतिप्रति आपत्ति जनाएका थिए ।
चिनियाँ राष्ट्रपति सी निजपिङसँगको भेटमा तत्कालीन प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको दाबी गर्दै भारत र चीनबीच उक्त भूमि प्रयोग गर्ने सम्बन्धमा भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।
तर, बिहीबार (वैशाख १७) भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर चीनसँगको समन्वयमा लिपुलेक पास हुँदै २०२६ जुनदेखि अगष्टसम्म कैलाश मानसरोवर यात्रा सञ्चालन हुने बताएको छ ।
तर, नेपाललाई कुनै जानकारी र सहमतिविना भारतले नेपालको भूमि प्रयोग गर्नेगरी मानसरोवर यात्राका लागि आवेदन खुला गरेको हो । मानसरोवर यात्राका लागि भारतले उत्तराखण्ड हुँदै लिपुलेक पास र सिक्किमको नाथुला पास गरी दुईवटा मार्ग तय गरेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लिपुलेकबाट १० वटा टोली र सिक्किमको नाथुलाबाट १० वटा टोली कैलास मानसरोवर यात्रामा जान सक्ने उल्लेख गरिएको छ । प्रत्येक टोलीमा ५० जनाका दरले कुल एक हजार जना यात्री सहभागी हुन सक्नेछन्।