आईपीएलको फाइनल अहमदाबादमा हुने

बुधबार, २३ बैशाख २०८३

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल रोयल च्यालेन्जर्स बेङ्लुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नहुने भएको छ ।

भारतीय सञ्चारमाध्यममा आएका खबरअनुसार प्रतियोगिताको फाइनल गुजरात टाइटन्सको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा सारिएको छ ।

यसअघि आईपीएलको फाइनल साविक विजेताको घरेलु मैदानमा हुँदै आएको थियो । बेङ्लुरु सन् २०२५ को च्याम्पियन हो ।

स्थानीय संघ तथा अधिकारीहरूबाट आवश्यकताहरू माग भएको र त्यो आफ्नो आचारसंहिताको दायराभन्दा बाहिर रहेका कारण फाइनल खेल हुने स्थल सार्नु परेको भारतीय क्रिकेट संघले जनाएको छ ।

अब, फाइनल मे ३१ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । पहिलो क्वालिफायर मे २६ मा धर्मशालाको हिमान्चल प्रदेश क्रिकेट संघ (एचपीसीए)को मैदान तथा एलिमिनेट मे २७ र दोस्रो क्लालिफायर मे २९ मा पन्जाबको न्यु चण्डीगढस्थित महाराजा यादविन्दर सिंह क्रिकेट मैदानमा हुनेछ ।

के हो विवाद ?
आईपीएल २०२६ अगाडि, कांग्रेसका विधायक विजयानन्द कशप्पनवरले बेङ्लुरुको खेलका लागि प्रत्येक विधायकले कम्तीमा पाँच टिकट पाउनुपर्ने माग राखेका थिए । निर्वाचित प्रतिनिधिहरू ’भीआईपी’ भएका कारण उनीहरूले लाइन बस्नुनपर्ने उनको तर्क थियो ।

त्यसपछि, कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले बेङ्लुरुको खेलहरूमा विधायक र सांसदका लागि तीनवटा टिकट उपलब्ध गराउने घोषणा गरेका थिए ।

यो निर्णयमा भारतीय क्रिकेट संघ र बेङ्लुरुका मालिक सन्तुष्ट थिएनन् । जसको परिणाम स्वरुप आईपीएलको फाइनल अहमदाबाद सारिएको छ ।