युक्रेन युद्धमा करिब पाँच लाख रुसी सैनिक मारिएको दाबी

बिहिबार, १४ जेष्ठ २०८३

काठमाडौँ – युक्रेनमाथि सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेयता करिब पाँच लाख रुसी सैनिक मारिएको बेलायतको गुप्तचर संस्था जीसीएचक्युले दाबी गरेको छ ।यो तथ्याङ्क जीसीएचक्युकी निर्देशक एनी किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा सार्वजनिक गरेकी हुन् । उनले बेलायतविरुद्ध देखा परिरहेका सुरक्षा चुनौतीहरू र तीसँग जुध्न आवश्यक कदमबारे पनि चर्चा गरिन् ।

उनले रुसले बेलायतको ‘अत्यावश्यक पूर्वाधार’ माथि निरन्तर निशाना साधिरहेको चेतावनी दिँदै बेलायत अहिले ‘गम्भीर मोड’ मा पुगेको बताइन् ।उनले बेलायती भूमिमा भएका विभिन्न जासुसी षड्यन्त्र तथा हालै बेलायत र अन्य नेटो राष्ट्रविरुद्ध ‘बिना घोषणाको हाइब्रिड (बहुस्वरुपीय) युद्ध ’ सञ्चालन गरेको आरोप पनि क्रेमलिनमाथि लगाइन् । यद्यपि, मस्को र किएभ दुवैले नियमित रूपमा एकअर्काको क्षतिको अनुमान सार्वजनिक गर्दै आए पनि आफ्नै सैन्य क्षतिबारे विस्तृत विवरण दिन भने हिच्किचाएका छन् ।

फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले सन् २०२२ यता युक्रेनका ५५ हजार सैनिक मारिएको बताएका थिए । बीबीसी (रसिया)ले स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना तथा स्वयंसेवकहरूको समूहसँग मिलेर फेब्रुअरी २०२२ देखि रुसी पक्षको युद्धका क्षतिका अभिलेख राख्दै आएको छ । सरकारी प्रतिवेदन, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा नयाँ स्मारक र समाधिस्थलहरूको आधारमा मृत्यु पुष्टि भएका सैनिकहरूको नाम सूचीबद्ध गरिएको छ ।

बीबीसीले हालसम्म युक्रेनमा रुसी पक्षबाट लड्दा मारिएका २ लाख २३ हजार ५ सय ३९ सैनिक तथा अधिकृतहरूको नाम पुष्टि गरेको जनाएको छ । तर वास्तविक मृत्यु संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । सैन्य विज्ञहरूका अनुसार समाधिस्थल, युद्ध स्मारक र श्रद्धाञ्जली सूचनाको विश्लेषणले कुल मृतकको करिब ४५ देखि ६५ प्रतिशत मात्र प्रतिनिधित्व गर्न सक्छ ।दोस्रो विश्वयुद्धका बेला कोड तोड्ने कार्यका लागि प्रसिद्ध ब्लेचली पार्कबाट सम्बोधन गर्दै किस्ट–बटलरले रुसले ‘अत्यावश्यक पूर्वाधार, लोकतान्त्रिक प्रक्रिया, र आपूर्ति शृङ्खला’ माथि आक्रमण गरिरहेको आरोप लगाइन् । क्रेम्लिनले भने यी आरोप अस्वीकार गरेको छ ।

किस्ट–बटलरले रुस र चीन दुवैले शान्तिपूर्ण तथा सैन्य प्रयोजनका लागि अन्तरिक्ष क्षेत्रमा ठुलो लगानी गरिरहेको चेतावनी पनि दिइन् ।उनले जीसीएचक्यू साइबर आक्रमण रोक्न दिनरात खटिरहेको बताउँदै ‘गैर जिम्मेवार विध्वंस र हत्या प्रयास’ विरुद्ध पनि प्रतिकार गरिरहेको उल्लेख गरिन् । उनले भनिन्, ‘यस्तो आक्रामकता र अराजकताबिच जीसीएचक्युले गुप्तचर तथा रक्षा साझेदारहरूसँग मिलेर रुसी खतरालाई कमजोर बनाउन अथक प्रयास गरिरहेको छ ।’