तिज मनाउन प्रशासनले लगायो अंकुश, खर्चालु महिलालाई झट्का
काठमाडौं – विशेषगरी हिन्दु महिलाको चाड हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ।
केही वर्षयता तीजको नाममा महिना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्यमन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय लगायतमा ज्ञापनपत्र बुझाएको थियो।
मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ। कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।
नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन्, ुहाम्रो उद्देश्य तीजको महिमा र महत्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो। प्रशासनबाट जारी सूचनाले तीजमा हुने भड्किलो गतिविधि न्यूनीकरण हुनेमा हामी विश्वस्त छौं।ु