कांग्रेसमा अन्तिम मिलन बिन्दु के ?

मंगलबार, २ असार २०८३

काठमाडौँ – नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासको अर्को महत्वपूर्ण मोडमा उभिएको छ। विशेष महाधिवेशनपछि विकसित घटनाक्रम, क्रियाशील सदस्यता अद्यावधिकलाई लिएर उत्पन्न विवाद, संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच बढ्दो अविश्वास तथा आगामी पन्ध्रौं महाधिवेशनको तयारीले पार्टीभित्र गम्भीर राजनीतिक बहस जन्माएको छ। विराटनगरमा हालै सम्पन्न संस्थापन इतर पक्षको भेलाले यो बहसलाई अझ सतहमा ल्याएको छ। एकातिर संस्थापन पक्ष विशेष महाधिवेशनको वैधानिकता, अदालतको फैसला र विधिसम्मत प्रक्रियाको पक्षमा उभिएको छ भने अर्कोतिर डा। शेखर कोइराला, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले सहभागिता, सम्मानजनक भूमिका र शक्ति सन्तुलनको प्रश्न उठाइरहेका छन्।

तर वर्तमान परिस्थितिलाई हेर्दा सबैभन्दा महत्वपूर्ण प्रश्न एउटै देखिन्छ—कांग्रेसमा अन्तिम मिलन बिन्दु के हो ?

यस प्रश्नको उत्तर खोज्नुअघि एउटा तथ्य स्वीकार गर्नुपर्छ। आज देखिएको विवाद नेपाली कांग्रेसका लागि कुनै नौलो घटना होइन। कांग्रेसको इतिहास नै उतारचढाव, असहमति, संघर्ष, विभाजन र पुनर्मिलनको इतिहास हो। बीपी कोइराला र गणेशमान सिंहबीच विचार र रणनीतिका मतभेद थिए। कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच नेतृत्व प्रतिस्पर्धा थियो। शेरबहादुर देउवाले पार्टी विभाजन गरेर अलग्गै कांग्रेस गठन गरेका थिए। विभिन्न महाधिवेशनहरूमा तीव्र गुटीय प्रतिस्पर्धा देखिएका थिए। तर यी सबै संकटका बाबजुद कांग्रेस अन्ततः पुनः एक ठाउँमा उभिएको इतिहास पनि उत्तिकै बलियो छ।

यसै सन्दर्भमा एक मार्क्सवादी विश्लेषकले वर्षौंअघि गरेको टिप्पणी आज पनि सान्दर्भिक सुनिन्छ। उनको भनाइ थियो। नेपाली कांग्रेस नेपालमा संसदीय व्यवस्थाको पर्याय हो। कांग्रेस मरेर जाने संगठन होइन, दुबोजस्तै जेलिने र फैलिने राजनीतिक शक्ति हो।’ राजनीतिक दृष्टिले यो भनाइसँग सबै सहमत नहुन सक्छन्, तर नेपालको लोकतान्त्रिक यात्रालाई हेर्दा कांग्रेसले बारम्बार आफूलाई पुनर्जीवित गर्दै आएको तथ्य अस्वीकार गर्न सकिँदैन। त्यसैले वर्तमान विवादलाई अस्तित्वको संकटभन्दा पनि नयाँ शक्ति सन्तुलन र नयाँ सहमतितर्फको संक्रमणका रूपमा बुझ्नु बढी यथार्थपरक हुनेछ।

वर्तमान विवादको मूलमा के छ त ?

गहिरिएर हेर्दा अहिलेको संघर्ष वैचारिक होइन। न त लोकतन्त्र र अधिनायकवादबीचको संघर्ष हो, न त समाजवाद र उदारवादबीचको। विवादको केन्द्रमा संगठनात्मक नियन्त्रण, सदस्यता व्यवस्थापन, निर्णय प्रक्रियाको स्वामित्व, नेतृत्वको शैली र भविष्यको शक्ति सन्तुलन छ। अर्थात् कांग्रेसभित्रको संकट विचारको भन्दा बढी विश्वासको संकट हो।

संस्थापन पक्षको दृष्टिकोणबाट हेर्दा उनीहरूको तर्क पनि अस्वाभाविक छैन। विशेष महाधिवेशन सम्पन्न भइसकेको छ। निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेको छ। सर्वोच्च अदालतले त्यसको वैधानिकता पुष्टि गरिसकेको छ। पार्टीलाई आधुनिक र व्यवस्थित बनाउन सदस्यता अद्यावधिक तथा डिजिटल प्रणाली आवश्यक छ। आगामी महाधिवेशन समयमै सम्पन्न हुनुपर्छ भन्ने उनीहरूको अडान संगठन सञ्चालनको दृष्टिले उचित देखिन्छ।

तर लोकतन्त्र केवल विधि र वैधानिकताले मात्र चल्दैन। लोकतन्त्रको आत्मा सहमति, सहभागिता र विश्वासमा पनि निर्भर हुन्छ। यदि पार्टीको ठूलो हिस्सा असन्तुष्ट छ भने केवल कानुनी वैधता देखाएर समस्या समाधान हुँदैन। राजनीतिक दल अदालतको फैसलाले मात्र चल्दैनन्स कार्यकर्ताको मनोविज्ञान र विश्वासले पनि चल्छन्। यही कारण संस्थापन पक्षले आफ्नो वैधानिक शक्तिसँगै राजनीतिक संवेदनशीलता पनि प्रदर्शन गर्न आवश्यक छ।

अर्कोतर्फ संस्थापन इतर पक्षले उठाएका प्रश्नहरू पनि गम्भीर छन्। उनीहरूको मुख्य चिन्ता निर्णय प्रक्रियामा समान सहभागिता, सदस्यता व्यवस्थापनको निष्पक्षता, समितिहरूमा सम्मानजनक प्रतिनिधित्व तथा महाधिवेशनको विश्वसनीयतासँग जोडिएको छ। लोकतान्त्रिक पार्टीभित्र अल्पमतको सम्मान र साझा स्वामित्वको भावना अनिवार्य हुन्छ। त्यसैले इतर पक्षका मागहरूलाई केवल असन्तुष्टिको राजनीति भनेर खारेज गर्न मिल्दैन।

तर इतर पक्ष पनि आलोचनाबाट मुक्त छैन। पार्टीको आधिकारिक प्रक्रियामा सहभागी नहुने, सदस्यता अद्यावधिक अभियानलाई बहिष्कार गर्ने र त्यसपछि प्रक्रियाको वैधतामाथि प्रश्न उठाउने प्रवृत्तिले उनीहरूको नैतिक बल कमजोर बनाउने खतरा रहन्छ। सुधारको राजनीति र बहिष्कारको राजनीति सँगसँगै अघि बढ्न सक्दैनन्। लोकतान्त्रिक संघर्षको उद्देश्य संस्था भत्काउनु होइन, संस्थालाई अझ लोकतान्त्रिक बनाउनु हो।

वास्तवमा अहिले कांग्रेसभित्रको सबैभन्दा ठूलो समस्या शक्ति संघर्षभन्दा पनि अविश्वास हो। संस्थापन पक्षलाई इतर पक्षले पार्टीलाई अस्थिर बनाउन खोजेको जस्तो लागिरहेको छ भने इतर पक्षलाई संस्थापनले आफूहरूलाई निष्क्रिय र अप्रासंगिक बनाउन खोजेको अनुभूति भइरहेको छ। यही मनोवैज्ञानिक दूरीले समस्या झन् जटिल बनाएको छ।

यही कारण अहिले सबैभन्दा बढी चर्चा मिलन बिन्दुको भइरहेको छ। तर त्यो मिलन बिन्दु कुनै व्यक्तिको विजय वा पराजय हुन सक्दैन। न त पाँच बुँदे प्रस्ताव मात्र अन्तिम सत्य हो, न सात बुँदे प्रस्ताव नै। वास्तविक मिलन बिन्दु भनेको सम्मानजनक सहअस्तित्व हो।

पहिलो मिलन बिन्दु विधि र सहमतिबीचको सन्तुलन हो। संस्थापन पक्षले वैधानिकतासँगै राजनीतिक समावेशितालाई पनि महत्व दिनुपर्छ। इतर पक्षले असहमतिका बाबजुद संस्थागत प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ।

दोस्रो मिलन बिन्दु साझा स्वामित्व हो। कांग्रेस कुनै एक नेता, कुनै एक पुस्ता वा कुनै एक गुटको पार्टी होइन। यो बीपी कोइरालाको लोकतान्त्रिक आदर्श, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको नैतिक नेतृत्व, गिरिजाप्रसाद कोइरालाको संघर्षशील राजनीतिक क्षमता, सुशील कोइरालाको सादगी तथा हजारौं कार्यकर्ताको योगदानबाट बनेको संस्था हो। त्यसैले यसको भविष्य निर्धारण गर्ने प्रक्रियामा सबै धारको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्छ।

तेस्रो मिलन बिन्दु पन्ध्रौं महाधिवेशनलाई शक्ति कब्जाको अभियान होइन, संगठन पुनर्निर्माणको अभियान बनाउनु हो। यदि महाधिवेशन केवल पद र शक्ति बाँडफाँडको प्रतिस्पर्धामा सीमित भयो भने आजको विवाद भोलि अझ गहिरिनेछ। तर यसलाई संगठन सुदृढीकरण, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र लोकतान्त्रिक संस्कृतिको पुनर्स्थापनाको अवसरका रूपमा लिइयो भने कांग्रेसले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ।

चौथो मिलन बिन्दु नेतृत्वको व्यवहारमा निहित छ। संस्थापन पक्षले विजेताको अहंकार त्याग्नुपर्छ। बहुमत प्राप्त भएको आधारमा सबै कुरा आफूले निर्धारण गर्न सक्ने सोच लोकतान्त्रिक नेतृत्वको गुण होइन। त्यस्तै इतर पक्षले पनि स्थायी असन्तुष्टिको राजनीतिबाट माथि उठ्नुपर्छ। प्रत्येक निर्णयलाई षड्यन्त्रको दृष्टिले हेर्ने प्रवृत्तिले पनि सहमतिको ढोका बन्द गर्छ।

इतिहासले कांग्रेसलाई एउटा पाठ सिकाएको छ—यो पार्टी तब बलियो भएको छ जब यसले सहमति खोजेको छ, र कमजोर भएको छ जब यसले अहंकारलाई प्राथमिकता दिएको छ। बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको त्याग, गिरिजाप्रसाद कोइरालाको समावेशी नेतृत्व तथा सुशील कोइरालाको सन्तुलित राजनीतिक संस्कृतिले यही सन्देश दिएका छन् कि संस्था व्यक्तिभन्दा ठूलो हुन्छ।

आज कांग्रेसको वास्तविक चुनौती कुनै नेता विशेष होइन, आफ्नै आन्तरिक अविश्वास हो। कार्यकर्ताले पार्टी फुटोस् भन्ने चाहेका छैनन्। विभाजनले कसैलाई स्थायी लाभ पनि दिने छैन। कार्यकर्ताले चाहेको कुरा एउटै हो—प्रतिस्पर्धा होस् तर पार्टीभित्रस मतभेद होस् तर सम्मानका साथस नेतृत्व परिवर्तन होस् तर संगठन कमजोर नबनोस्।

अन्ततः कांग्रेसको अन्तिम मिलन बिन्दु कुनै व्यक्ति, कुनै गुट वा कुनै दस्तावेज होइन। अन्तिम मिलन बिन्दु भनेको कांग्रेसको अस्तित्व, लोकतान्त्रिक विरासत र भविष्यप्रतिको साझा प्रतिबद्धता हो। जब संस्थापन पक्षले अहमता त्याग्छ, इतर पक्षले समयको मागअनुसार लचकता देखाउँछ, र दुवैले ूम जितूँ कि तिमी जितू भन्दा माथि उठेर ूकांग्रेस जित्नुपर्छू भन्ने निष्कर्षमा पुग्छन्, त्यही क्षण वास्तविक मिलन बिन्दु भेटिनेछ।

पन्ध्रौं महाधिवेशनको सफलता कसले सभापति जित्यो भन्ने कुराले निर्धारण गर्ने छैन। त्यसको वास्तविक मूल्यांकन कांग्रेसले आफ्ना मतभेदलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गर्दै नयाँ विश्वास निर्माण गर्न सक्यो कि सकेन भन्ने आधारमा हुनेछ। यदि त्यो विश्वास पुनःस्थापित भयो भने पन्ध्रौं महाधिवेशन नेपाली कांग्रेसको पुनर्जागरणको अभियान बन्नेछ। यदि भएन भने नेतृत्व फेरिए पनि संकट यथावत् रहनेछ।

त्यसैले आजको आवश्यकता स्पष्ट छ।  ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने मानसिकताको अन्त्य, सम्मानजनक सहमतिको सुरुवात, र व्यक्तिको होइन संस्थाको विजय। यही कांग्रेसको अन्तिम मिलन बिन्दु हो, र यही पन्ध्रौं महाधिवेशनको ऐतिहासिक दायित्व पनि।