यी हुन् एनओसीमा सूचीकृत नभएका कोरियाली शैक्षिक संस्थाहरु
काठमाडौं – आर्थिक हैसियत कमजोर भएका नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्य हो दक्षिण कोरिया । +२ मा ३.२ जिपिए, आएल्समा ५.५ ल्याएका विद्यार्थी २ देखि ५ लाख खर्चमा कोरिया पुग्न सक्छन् । ६ महिनाको प्रारम्भिक अध्ययनपछि विद्यार्थीले अध्ययनसँगै हप्तामा २० देखि ३५ घण्टासम्म र विदाको समयमा पुरै समय काम गर्नसमेत पाउने भएकाले कोरियामा नेपाली विद्यार्थीको आकर्षण झनै बढेको हो ।
कोरियाको शैक्षिक गुणस्तर पनि विश्वस्तरकै छ । त्यहाँ विश्व दर्जा (Global Ranking) को उत्कृष्ट १०० भित्र पर्ने थुप्रै राम्रा विश्वविद्यालयहरु छन् । तर यस्ता विश्वविद्यालयमा नेपाली विद्यार्थीहरु भर्ना भएको पाइदैन । नेपालका केही आपराधिक मानसिकता भएका शैक्षिक कन्सल्टेन्सीका संचालकहरुले निकै कमजोर र बदनाम शैक्षिक संस्थाहरु (विश्वविद्यालय, भाषा स्कुल, भोकेश्नल कलेज) मा नेपाली विद्यार्थीलाई भर्ना गर्ने गरेका छन् । कोरियामा विद्यार्थी भर्ना गरिरहेका एक शैक्षिक परामर्श व्यवसायीको भाषामा धेरै नेपाली विद्यार्थी तस्करीमा परेका छन् ।
केही शैक्षिक कन्सल्टेन्सीहरुले नेपालस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) मा सूचीकृत नभएका शैक्षिक संस्थामा विद्यार्थी पठाएर मानव तस्करी गरिरहेको ती व्यवसायीको भनाई छ । नेपालको एनओसीमा सूचीकृत नभएका शैक्षिक संस्थामा विद्यार्थी भर्ना गर्दा हुण्डिमार्फत ट्युसन फि र होस्टेल फि जम्मा गर्ने, अर्को विश्वविद्यालयको नाममा एनओसी बनाउने वा एनओसी नबनाई भारतको बाटो विद्यार्थी पठाउने काम गरिरहेका छन् ।
यसरी अवैध बाटोबाट कोरिया पुगेका विद्यार्थीलाई सुरुमा सहज जस्तो लागेपनि दीर्घकालमा निकै ठूलो समस्या झेल्नुपर्ने एनओसी शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव उद्धव श्रेष्ठको भनाई छ । एनओसी नबनाई वा अर्कै विश्वविद्यालयको एनओसी बनाएर विद्यार्थीलाई विदेश पठाउनु कलिला बालबालिकाको भविष्यमाथि खेलवाड भएको उनको भनाई छ । ‘विद्यार्थीको भविष्यमाथि निकै ठूलो खेलवाड भएको रहेछ । यसलाई रोक्नुपर्छ ।’, मोटिभेट न्यूजको टोलिसँग शाखा प्रमुख श्रेष्ठले भने, ‘यसलाई रोक्न पहिला अभिभावकलाई बुझाउनु पर्छ । अभिभावकले बुझेपछि यस्तो कुरा रोकिन्छ होला ।’
उनले आफ्नो बच्चा कहाँ पढ्न जाँदैछ, कस्तो विश्वविद्यालयमा जाँदैछ, त्यहाँको डिग्री पछिका अवसरहरु केके हुन् ? जानकारी लिएर मात्र विदेश पठाउँदा विद्यार्थीको भविष्य सुरक्षित हुने बताएका छन् ।
यसरी गलत बाटोबाट विदेश अध्ययनका लागि जाँदा भविष्य नै वर्वाद हुने अर्का एक शैक्षिक परामर्श व्यवसायीको भनाई छ । ‘विदेशको डिग्री लिएपछि त्यसले मान्यता पनि पाउनु पर्यो नी, एनओसी नबनाएर विदेश अध्ययनका लागि जाँदा फर्किएपछि समकक्षताको समस्या हुन्छ ।’, उनले भने, ‘समकक्षता भएन भने वर्षौ लगाएर पढेको के अर्थ भयो ? समय पनि वर्वाद, पैसाको पनि सत्यानास । त्यही भएर सिधा बाटोबाटै मात्र विदेश जाने प्रयास गर्नुपर्छ ।’
गलत बाटोबाट विद्यार्थी भर्ना गरेको पाइएपछि मोटिभेट न्यूजले नेपालको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) मा सूचीकृत नभएका कोरियाका शैक्षिक संस्थाहरुको खोजी गरेको थियो । मन्त्रालयको एनओसी शाखाले आधिकारिक मानेका कोरियाका Korea Accreditation Board for Vocational Higher Education(KAVE) र korean university accreditation institute (KUAI) मा सूचीकृत शैक्षिक संस्थाहरुको सूची र नेपालको एनओसी शाखामा सूचीकृत शैक्षिक संस्थाको सूची भिडाएर हेर्दा १ सय २० शैक्षिक संस्था सूचीकृत नभएको पाइएको छ ।
दुईवटै आधिकारिक संस्थामा सूचीकृत ३ सय १० शैक्षिक संस्थामध्य १ सय २० शैक्षिक संस्था सूचीकृत नभएको पाइएको हो । सूचीकृत नभएका शैक्षिक संस्थाहरुमा अहिले पनि नेपालका शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीबाट चर्को शुल्क लिएर भर्ना गरिरहेका छन् ।
एनओसीमा सूचीकृत नभएका शैक्षिक संस्थाहरुको सूची यसप्रकार रहेको छ ।