यी हुन् पुनः पक्राउ परेका कन्सल्टेन्सी सञ्चालकहरू
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएका विशेष अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका शैक्षिक कन्सल्टेन्सीका संचालकलाई प्रहरीले पक्राऊ गरेको हाे ।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई ललितपुर र २ जनालाई भक्तपुर परिसरमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ पर्ने कन्सल्टेन्सीहरूमा गुरुबा/स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल प्वाइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, २४ आवर्स एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेसी एजुकेसन र ब्लुम अब्रोड रहेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ १ गते शुक्रबार पक्राउ गरेका ६९ जना शैक्षिक कन्सल्टेन्सीका संचालकमध्ये २७ जनालाई शिक्षा तथा खेलकुद मन्त्रालयकाे जिम्मा लगाएकाे थियो । मन्त्रालयले २७ जनामध्ये २५ जनालाई कारवाही गर्न पुन: गृहमन्त्रालयलाई सिफारिस गरेकाे थियाे ।
साेही अनुसार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्न बाँकी ७ जनालाई पनि खाेजीरहेकाे प्रहरीले जनाएकाे छ ।
कार्यालयको टोलीले काठमाडौं, ललितपुर, भक्तपुरमा कानुन विपरित संचालित ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको ६९ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे थियो ।
फायल तस्वीर