तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
काठमाडौँ – कर्णाली नदीमा खसेको गाडी र यात्रु तीन दिनसम्म पनि भेटिएका छैनन् भने सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा असार १८ गते यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको थियो। गाडीमा पाँच यात्रु सवार रहेको पुष्टि भएको छ भने थप यात्रु थिए वा थिएनन् भन्ने विषयमा खोजबिन जारी रहेको छ। दुर्घटनामा मृत्यु भएका एक जनाको शव परिवारलाई बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार, घटनास्थलमा फेला परेका मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा सवार पाँच यात्रुको पहिचान गरिएको हो।सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का गाडी चालक तुलाराम सुवेदी, उनका दाइ सहचालक रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका(२ की १९ वर्षीया सिर्जना खड्का र कालिकोटकै पचालझरना गाउँपालिका-९ का मेखे तिरुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए।
यस्तै, पचालझरना गाउँपालिका- ९ का जेखे तिरुवाको शव भिरमा अड्किएको अवस्थामा प्रहरीले निकालेको थियो। उनको शव आफन्तले सनाखत गरेका छन्। शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरी निरीक्षक रोकायाले बताए।
सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाडी असार १८ गते बिहान साढे ११ बजे सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो। दुर्घटनापछि गाडी र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दा खटिएका छन्। गाडी र यात्रुको तीन दिनसम्म पनि कुनै पत्तो लाग्न सकेको छैन।