कांग्रेसले एमाले र नेकपासँग मिलेर सरकार नबनाउने

आइतबार, ३ साउन २०८३

काठमाडौँ – प्रदेशमा प्रमुख तीन दलको संयुक्त सरकार गठन गर्ने प्रस्तावमा नेपाली काँग्रेसले प्रष्ट असहमति जनाएको छ । प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने भन्दै उक्त पार्टीका सभापति गगनकुमार थापाले विमति प्रकट गरेका हुन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले संयुक्त सरकार बनाउँदा लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने तर्क गरे ।

सभापति थापाले तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेटविपरित हुने र काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे । विगतमा सत्ताकै लागि पार्टीले गल्ती गरेको स्वीकार गर्दै उनले अब सिद्धान्तमा सम्झौता नगर्ने अडानसमेत सुनाएका छन् ।

‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्याउँदैनौँु, उनले भने, ‘तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ । तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो ।’

सत्तालाई नै सबैथोक मान्ने सोचका कारण ०७२ सालयता राजनीति अस्थिर र दिशाहीन बनेको थापाको तर्क छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उनले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने अवस्थाले गर्दा राजनीतिको साख गिरेको बताए ।

सत्ता नै सबै कुरा हो भन्ने मान्यताले काँग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको सभापति थापाको बुझाइ छ ।
चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताउँदै उनले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा नलागी आधारभूत सिद्धान्त र नागरिकको अपेक्षाप्रति इमानदार रहनुपर्नेमा जोड दिए ।