युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस
काठमाडौं — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित ‘फरक सन्दर्भ, साझा आकांक्षा’ विषयक प्यानल छलफलमा युवाका रोजगारी, मानसिक स्वास्थ्य, राजनीतिक नेतृत्व, संसद्को मर्यादा र पछिल्ला युवा आन्दोलनलगायतका विषयमा बहस भएको छ ।
एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखिएका समस्या विकासोन्मुख तथा अल्पविकसित मुलुकहरूमा समेत समान रहेको बताए ।
उनले दक्षिण एसियाका नेपाल, बंगलादेश र श्रीलंकाको शिक्षा प्रणाली, स्वास्थ्य, रोजगारी तथा युवालाई उपलब्ध गराइने अवसरका विषयमा राज्यको भूमिका महत्वपूर्ण हुने बताए । राज्यले युवालाई सम्मानजनक अवसर प्रदान गर्ने र उनीहरूको संरक्षण गर्ने विषयले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्ने उनको भनाइ थियो ।
‘हामीले रोजगारीमा जति समस्या भोगिरहेका छौं, आन्तरिक र बाह्य रोजगारीका समस्याहरू एलडीसी देशहरूमा पनि उस्तै छन्,’ उनले भने, ‘राज्यले युवालाई कसरी सम्मानजनक अवसर प्रदान गर्छ र कसरी संरक्षण गर्छ भन्ने कुराले मानसिक स्वास्थ्यमा पनि धेरै असर गर्छ ।’
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले लोकतन्त्रमा असल नेतृत्वका लागि शालीनता, अध्ययन र अनुशासन आवश्यक रहेको बताए ।
उनले संसद्मा प्रतिपक्षी दलले आक्रामकभन्दा पनि जिम्मेवार र शालीन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आफूहरू ३४ महिना प्रतिपक्षमा बसेर संसदीय अभ्यास गरेको उल्लेख गर्दै झाले आगामी पुस्ताको राजनीतिमा नेपाली कांग्रेसका सांसद निस्कल राईलाई सम्भावनायुक्त नेताका रूपमा आफूले हेरेको बताए ।
‘लोकतन्त्रमा असल नेतृत्वका लागि शालीनता, अध्ययन र अनुशासन आवश्यक हुन्छ,’ झाले भने, ‘प्रतिपक्षका रूपमा हाम्रो अनुभव लामो छ । त्यसैले अहिले प्रतिपक्षलाई धेरै उग्रता नदेखाउन र शालीनता प्रस्तुत गर्न आग्रह गर्छु ।’
नेपाली कांग्रेसका सांसद निस्कल राईले संसद्लाई मर्यादित बनाउन सबै राजनीतिक दल र सांसदको भूमिका महत्वपूर्ण रहेको बताए । प्रत्येक पुस्ताले राजनीतिसँग जोडिएका प्रश्नहरूको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
उनले अघिल्लो पुस्ताले लोकतन्त्र, राजनीतिक अधिकारलगायतका विषयका लागि संघर्ष गरेर प्राप्त उपलब्धिलाई वर्तमान पुस्ताले विरासतका रूपमा पाएको बताए ।
‘संसद्लाई हामी सबैले मर्यादित बनाउनुपर्ने अवस्था आएको छ,’ राईले भने, ‘अघिल्लो पुस्ताले लोकतन्त्र र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आयो। आज हाम्रो पुस्ताले ती उपलब्धिहरूलाई लगभग विरासतमै पाएको जस्तो लाग्छ ।’
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भारत, नेपाल, श्रीलंका र बंगलादेशमा भएका युवा आन्दोलनका क्रममा फरक–फरक परिदृश्य देखिनुमा चेतनाको स्तर, आर्थिक–सामाजिक अवस्था र विकासको स्तरलगायतका पक्षले प्रभाव पारेको बताए ।
युवाहरू हिंसात्मक आन्दोलनमा सहभागी हुनुमा माओवादी आन्दोलनको प्रभाव छ कि छैन भन्ने प्रश्नमा अहिलेको पुस्ताको उमेर र समय–सन्दर्भलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘भारत, नेपाल, श्रीलंका र बंगलादेशमा आन्दोलन हुँदा किन फरक परिदृश्य देखियो भन्ने सन्दर्भमा तीनवटा फ्याक्टरले काम गरेको जस्तो लाग्छ,’ दुलालले भने, ‘हाम्रो चेतनाको स्तर, आर्थिक–सामाजिक अवस्था र विकासको स्तर त्यसका प्रमुख कारण हुन् ।’
उनले माओवादी आन्दोलन समाप्त भएको करिब दुई दशक भइसकेको उल्लेख गर्दै अहिलेका अधिकांश युवा त्यतिबेला जन्मिएकै नभएको वा बाल्यावस्थामा रहेको बताए । त्यसैले वर्तमान पुस्ताका आन्दोलन र राजनीतिक गतिविधिलाई विगतको माओवादी आन्दोलनसँग मात्र जोडेर हेर्न नहुने उनको तर्क थियो ।