प्रेरक प्रसंग : सबैभन्दा ठुलो पुरस्कार
काठमाडौं — संसारका सबै प्राणीहरुमध्ये मानिस शारीरिक रुपले सबैभन्दा कमजोर छ । किनकि मानिस चराको जस्तो उड्न सक्दैन, पेटको सहारामा सर्पले जस्तो दौडिन सक्दैन, माछाको जस्तो पानीमा तर्न वा उत्रन सक्दैन । वादरको जस्तो रुख चढ्न तथा हामफाल्न पनि सक्दैन । मानिसको आँखा चिलको जस्तो तेजिलो पनि हुँदैन, न उसका पन्जा र दाँत (बाघ–भालुका) जस्ता नै हुन्छन् ।
सुरक्षाको दृष्टिले मानिस धेरै नै लाचार र असुरक्षित हुन्छ । उ एउटा सानो किराले टोक्दा मर्नसक्छ तर पनि भाग्य (इश्वर) समझदार र दयालु छ । उसले मानिसलाई सबैभन्दा ठुलो पुरस्कार जुन दिएको छ, त्यो हो सोच्नसक्ने क्षमता । मानिसले आफ्नो वातवरण आफैले सिर्जना गर्नसक्छ तर जनावर पशु–पन्क्षिहरुले वातवरण वा प्रकृति अनुसार हिंड्नु पर्छ ।
दुःखलाग्दो कुरा चाँहि के छ भने, भाग्य (प्रकृतिको) सबैभन्दा महत्त्वपूर्ण र ठुलो पुरस्कारलाई धेरै मानिसहरुले प्रयोग गर्न सकेका छैनन् । असफल हुने मानिसहरु दुई प्रकारका हुन्छन, उनीहरुमध्ये पहिलो खालकाहरुले जे कुरा सोच्छन् त्यसको सम्बन्धमा केहि पनि गर्दैन् । दोस्रो थरिका भने जुन काम गर्छन त्यसको सम्बन्धमा अलिकति पनि सोच्दैनन् । सोच्ने क्षमताको प्रयोग नगरिकन जीवन बिताउनु पनि उस्तै हो । जस्तो कि निशाना बिनाको गोलि छोडेजस्तो ।