नेपाली नेतालाई होली वाइन खुवाउने शिन ओकजुलाई झट्का, अदालतले सुनायो यस्तो सजाए

शुक्रबार, १७ साउन २०७६

काठमाडौं – केही नेपाली नेताहरुलाई विर्य मिश्रित होली वाईन खुवाउने दक्षिण कोरियास्थित ग्रेसरोड चर्चकी संस्थापक शिन ओकजुलाई ६ वर्ष जेल सजाय भएको छ । जुले सन २०१४ मा करिब चारसय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी थिइन् ।

फिजी पुर्याइएपछि उनीहरुको पासपोर्ट खोसिएको र तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको उजुरी परेको थियो । त्यसबाहेक बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको पनि आरोप लागेको थियो । यसै सम्बन्धमा शिनलाई गएको जुलाई महिनामा पक्राउ गरिएको थियो ।

ग्रेसरोड चर्चको अमानवीय व्यवहारबाट फुत्किन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेको बीबीसीले जनाएको छ । सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्धाहरुमा दोषी ठहर्याएको थियो । चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरुलाई पनि सजाय सुनाइएको छ भने यसबारेमा चर्चले कुनै आधिकारिका धारणा वा प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई ‘होली वाइन’ खुवाएको विषयले राजनीति गरमागर्मी बढाएको थियो । त्यो काम सबै उनै जु मार्फत भएको थियो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ नेकपा आलोचित भयो ।

सो घटना अहिले पनि सेलाएको छैन । होलीवाइन खाने कार्यक्रममा देशभरबाट एमाले र एमाओवादीका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र समर्थक गरी झण्डै ३५ सय मानिस सरकारकै आदेशमा काठमाडौं बोलाइएको थियो । देश धर्म निरपेक्ष भइसकेको अवस्थामा सरकार आफैले सरकारी बजेटमा क्रिश्चियन धर्मको प्रचारको लागि कार्यक्रम गरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।

काठमाडौंको ह्यात रिजेन्सी होटेलमा इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले आयोजना गरेको कार्यक्रममा नेताहरुलाई विर्यमिश्रित होली वाइन खुवाइएको थियो । त्यो संस्थाको प्रमुख विवादस्पद ब्यक्ति एकनाथ ढकाल हुन् ।