पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे
काठमाडौं — नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पुँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई उद्योग, पूर्वाधार, ऊर्जा, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले भने, ‘पुँजी बजारको वास्तविक उद्देश्य बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्नु हो । आज लाखौँ नेपाली नागरिकले आफ्नो आम्दानीबाट बचत गरिरहेका छन् । पुँजी बजार त्यही छरिएको बचतलाई उद्योग, पूर्वाधार, ऊर्जा, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजीका रूपमा परिचालन गर्ने माध्यम बन्नुपर्छ । त्यस अर्थमा पुँजी बजार केवल वित्तीय बजार मात्र नभई नेपालको औद्योगिकीकरण र आर्थिक रूपान्तरणको वित्तीय पूर्वाधार पनि हो ।’
उनले पुँजी बजारलाई नेपालको औद्योगिकीकरण र आर्थिक रूपान्तरणको वित्तीय पूर्वाधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल लामो समयदेखि रेमिट्यान्स, उपभोग र आयातमा आधारित आर्थिक वृद्धिमा निर्भर रहेको उल्लेख गर्दै पाण्डेले अब लगानी, उत्पादन, उत्पादकत्व, नवप्रवर्तन र निर्यातमा आधारित आर्थिक वृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।
‘अब उद्योग विस्तार, पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, पर्यटनको विस्तार र सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई नयाँ आर्थिक वृद्धिको इन्जिन बनाउन आवश्यक छ,’ उनले भने ।
पाण्डेका अनुसार मुलुकमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न पनि दीर्घकालीन र ठूलो परिमाणको पुँजी आवश्यक छ । बैंकिङ प्रणाली नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भए पनि बैंकिङ ऋणले मात्र पूर्वाधार, उद्योग तथा दीर्घकालीन परियोजनाको सम्पूर्ण वित्तीय आवश्यकता पूरा गर्न नसक्ने उनले बताए ।
त्यसैले बैंकिङ प्रणालीसँगै पुँजी बजारलाई आर्थिक विकासको अर्को प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । सीएनआईले अघि सारेको १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न फराकिलो, विविधीकृत, विश्वसनीय र दीर्घकालीन पुँजी बजार आवश्यक रहेको पाण्डेले बताए ।
नेपालको पुँजी बजारमा पछिल्ला वर्षमा भएको विस्तारलाई सकारात्मक रूपमा लिनुपर्ने पाण्डेले बताए । उनका अनुसार हाल नेपालमा ७५ लाखभन्दा बढी डिम्याट खाता तथा ६५ लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता छन् ।
उनले भने, ‘हामीले हासिल गरेको प्रगति पनि उल्लेखनीय छ । यस क्रममा नेपालको पुँजी बजारले पछिल्ला वर्षमा गरेको विस्तारलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । आज पनि ७५ लाखभन्दा बढी डिम्याट अकाउन्ट्स र ६५ लाखभन्दा बढी मेरो सेयरको युजर हुनु आफैँमा ठूलो परिवर्तन हो । एक दशक अघिको अवस्थासँग तुलना गर्दा यो ठूलै उपलब्धि हो ।’
नेपालको सेयर बजारको कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६६ प्रतिशत पुगेको उल्लेख गर्दै उनले पुँजी बजार अब अर्थतन्त्रको सीमित हिस्सा नभई महत्वपूर्ण अंग बनिसकेको बताए । तर बजार विस्तारलाई केवल नेप्से सूचकांकको वृद्धिका आधारमा मूल्यांकन गर्न नहुने उनले बताए ।
उनले भने, ‘यसैगरी हालसम्म नेपालको सेयर बजारको कुल बजार पुँजीकरण जीडीपीको करिब ६६ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले देखाउँछ पुँजी बजार अब नेपालको अर्थतन्त्रको सीमान्त हिस्सा रहेन, यो अर्थतन्त्रकै महत्वपूर्ण अङ्ग बनिसकेको छ ।’
पुँजी बजारको विस्तारले वास्तविक अर्थतन्त्रमा प्रभाव पार्नुपर्नेमा जोड दिँदै उनले पुँजी बजार बढिरहेको तर त्यसको प्रभाव उत्पादन, रोजगारी र लगानीमा नदेखिए विकास अधुरो हुने बताए ।