काठमाडौंको नयाँ बसपार्क माफियाको कब्जामा, मन्त्रीनै संलग्न

सोमबार, २० साउन २०७६

काठमाडौं – काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ ।

ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो ।

तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मा र निर्दोष घोरसाइनेले लेखेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको लगानी रहेको ल्होत्से सहकारीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई प्रभावमा पारेर बसपार्क संचालनको जिम्मा पाएको थियो । अहिले मन्त्री भएपछि उनले नयाँ बसपार्कलाई आफ्नो ब्यक्तिगत सम्पति भए जसरी भौतिक संरचना तयार गरिरहेका छन् ।